विराटनगर । कोशी प्रदेशका १३७ वटा स्थानीय सरकारको बेरुजू २६ अर्ब ६३ करोड ७२ लाख ९७ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रदेशहरुको छैटौं प्रतिवेदनमा यस्तो विवरण सार्वजनिक भएको हो ।
प्रतिवेदन अनुसार कोशी प्रदेशमा एक मात्रै महानगरपालिका रहेको विराटनगरको बेरुजु आर्थिक वर्ष २०७९–८० मा ७ करोड १२ लाख रुपैयाँ रहेको छ । यस्तै इटहरी र धरान उपमहानगरपालिकाको बेरुजु २५ करोड ७ लाख पुगेको छ । सबैभन्दा बढी बेरुजु प्रतिशत दुई वटा उपमहानगर पालिका धरान र इटहरीमा देखिएको हो ।
प्रदेशका ४५ वटा नगरपालिकाको बेरुजु २ अर्ब १६ करोड ३१ लाख र ८८ वटा गाउँपालिकाको बेरुजू २ अर्ब ५९ करोड ४८ लाख देखिएको छ । बेरुजुमध्ये असुल गर्नुपर्ने रकम ६२ करोड ३१ हजार, नियमित गर्नुपर्ने ४ अर्ब २० करोड ८ लाख ३५ हजार र पेश्की २५ करोड ८९ लाख ७२ हजार रहेको छ ।
महालेखा परीक्षणका क्रममा विराटनर महानगरपालिकाको ६ अर्ब ८९ करोड ३१ लाख ६३ हजार रुपैयाँ रकमको लेखापरीक्षण भएको थियो भने २ वटा उपमहानगरपािलकाको ८ अर्ब ८९ करोड ४४ लाख ७० हजार, ४५ नगरपालिकाको ८६ अर्ब ६० करोड ९२ लाख २६ हजार र ८८ वटा पालिकाको ९७ अर्ब ६८ करोड ४५ लाख ६३ हजार रुपैयाँको लेखापरीक्षण गरिएको जनाइएको छ ।
योसँगै १३७ वटै पालिकाको स्थानीय तहको गत वर्षसम्मको कूल बेरुजू रकम २३ अर्ब ७९ करोड ६२ लाख ४८ हजार रहेकोमा समायोजन तथा सम्परीक्षणबाट २ अर्ब २३ करोड ८७ लाख ८९ हजार फस्र्योट भई २१ अर्ब ५५ करोड ७४ लाख ५९ हजार बाँकी थियो । आर्थिक वर्ष २०७९–८० को बेरुजु ५ अर्ब ७ करोड ९८ लाख ३८ हजार थप भई पुनः कूल बेरुजु रकम २६ अर्ब ६३ करोड ७२ लाख ९७ हजार पुगेको महालेखाले जनाएको छ ।