विराटनगर । के तपाईंसँग सीप तथा क्षमता छ ? जागिरको खोजीमा भौंतारिइरहनुभएको छ ? त्यसो हो भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा देशभर सुरु हुने ‘श्रमाधान रोजगार मेला’ले तपाईंलाई जागिर दिलाउन सक्छ ।
मोरङको विराटनगरस्थित सिटी प्यालेस होटल एन्ड रिसोर्टमा जेठ १७ गते बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने ‘श्रमाधान रोजगार मेला’ तपाईंका लागि जागिर पाउने उपयुक्त थलो बन्न सक्छ ।मेलामा कोशी प्रदेशका ५० भन्दा उद्योगी व्यवसायीले स्टल नै राखेर तपाईंहरुलाई रोजगारीका लागि आवेदन दिन आह्वान गर्नेछन् । जहाँ तपाईंलाई आफ्नो सीप, क्षमता एवं योग्यताअनुसारको जागिर प्राप्त गर्ने सुवर्ण अवसर प्राप्त हुने मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेशमा मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले नै गरिरहेको छ । महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले विराटनगर प्रदेशकै करिब ७० प्रतिशत उद्योग व्यवसाय भएको र अहिले पनि धेरै उद्योगी व्यवसायीलाई श्रमिक आवश्यक भइरहेको बताए ।
‘यहाँका उद्योगलाई अहिले नै पनि धेरै मजदुर तथा श्रमिक चाहिएको छ,’ उनले भने, ‘मेलामा सहभागी भएर आफ्नो योग्यता, सीप तथा क्षमताअनुसारको रोजगारीका लागि आवेदन दिन सम्पूर्ण युवामा म हार्दिक अपिल गर्दछु ।’ विदेशमा सीप सिकेर फर्किएका युवाका लागि मेला थप उपयुक्त थलो हुने अध्यक्ष राउतले बताए ।
त्यस्तै श्रम मन्त्रालयका उपसचिव एवं रोजगार मेलाको कोशी प्रदेश संयोजक सुशीलप्रसाद आचार्यले रोजगारीको खोजीमा भौंतारिइरहेका युवायुवतीका लागि मेला उपयुक्त थलो हुने बताए ।‘मेला रोजगार दिने र माग्नेबीचको सेतु भएकाले सबैलाई सहभागी हुन र लाभ लिन म हार्दिक आग्रक गर्दछु,’ उनले भने ।
श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी कार्यक्रम, रेमी परियोजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतले स्टल राख्नेछन् ।
मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।