विराटनगर । आगामी जेठ १७ गतेदेखि देशभर ‘श्रमाधान रोजगार मेला’ आयोजना हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले यो मेला आयोजना गर्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशको विराटनगरबाट जेठ १७ गते मेलाको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ । मेलालाई सीप र क्षमता विकासका लागि मध्यस्थकर्ता बनाइनेछ । जस अनुसार यसलाई काम खोज्ने युवा र रोजगारदाताको मिलनबिन्दु बनाइनेछ । कुल सात प्रदेशमा दुई–दुई दिन चल्ने यस मेलामा श्रमिक तथा सरोकारवालाहरूले रोजगारीसम्बन्धी गुनासा राख्न पाउनेछन् । साथै आवश्यक सीपको बारेमा पनि जानकारी हासिल गर्न सकिनेछ । मेलामा रोजगारीका समस्या समाधानका लागि छलफल हुनेछ ।
आन्तरिक रोजगारी प्रवद्र्धनसँगै वैदेशिक रोजगारी व्यवस्थापन पनि मेलाको उद्देश्य रहेको छ । मेलामा वैदेशिक रोजगार सम्बन्धी जानकारी र ठगी रोकथाम विषयमा छलफल हुनेछ । मेला विभिन्न मानव संसाधन कम्पनीको सहभागितामा हुनेछ । मेला कोशी प्रदेशबाट सुरु भएर बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको संयोजनमा हुने मेलामा श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने छ । मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतले पनि स्टल राख्ने कोशी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।