विराटनगर। मोरङको रङ्गेली नगरपालिका–४ का वडाअध्यक्ष अभदेश मण्डलसहित १३ जना विरुद्ध ‘सरकारी कागजपत्र किर्ते’ गरेको मुद्दामा पक्राउ पूर्जी जारी भएको छ ।
मोरङ प्रहरीमा जाहेरी दर्ता भएपछि गत जेठ ९ गते मोरङ अदालतबाट वडाअध्यक्ष मण्डलसहित १३ जना विरुद्ध सरकारीकागजपत्र किर्ते गरेको मुद्दामा पक्राउ पूर्जी जारी भएको हो ।
वडाअध्यक्षसहित १३ जना मिलेर रंगेली–४ आमतोलामा रहेको करिब ३ करोड पर्ने जग्गा र उद्योग एकलौटी बनाउन स्थानीय जनप्रतिनिधि र मालपोत कार्यालयका सरकारी कर्मचारीसहित १३ जना संलग्न रहेको आरोप छ ।स्थानीय ७९ वर्षीय रामप्रसाद साहको नाममा रहेको जग्गा र उद्योग उनका जेठी श्रीमतीलाई बाइपास गरेर कान्छि श्रीमतीको नाममा ल्याउन रङ्गेली–४ का वडाअध्यक्ष मण्डल आर्थिक चलखेलको लोभमा परेपछि पदीय जिम्मेवारीलाई भुलेर लागेको पाइएको हो ।
वडाअध्यक्षको अवैध कामलाई साथ दिन रङ्गेली नगरपालिकाका उपप्रमुख झुमा पराजुली (निरौला) का श्रीमान गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रंगेलीका मुद्दा फाटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौलासहित १३ जना छन् ।
रामप्रसाद साहको नाममा साविक गाविस रंगेली वडा नं. ८ को नक्सा सिट नं. १७८०७१८ को किता नं. १५६ र १५७ रहेको २०५ र ३३८.६३ वर्ग मिटरको जग्गा रहेको छ । सोही जग्गामा बजरङ्ग चिउरा उद्योग र घर छ । अहिले यो जग्गा प्रति धुर १० लाखदेखि १२ लाखसम्ममा खरिद विक्री भइरहेको जग्गा हो । घर र उद्योगबाहेक मात्रै जग्गाको भाउ करिब तीन करोड पर्ने स्थानीय बताउँछन् ।
रामप्रसाद साहको ८ वैशाख २०७९ मा मृत्यु भयो । उनका दुई जना श्रीमती छन् । जेठी श्रीमती कलावती देवि र कान्छि कौशिला देवी साह । जेठी पटिका विरेन्द्र कुमार साह र कान्छि पटिका राजकिशोर साह छोरा छन् । उनीहरु छुट्टिएर बसेका छन् ।
जग्गा एकलौटी बनाउने खेलको नालीबेली
रामप्रसाद साहको निधन भएपछि कान्छि पटिका छोरा राजकिशोरले बावुको १३ औं दिनमा मृृत्य दर्ता बनाए । बावुको मृत्यु भएपछि काजकिरिया सकिएकै दिन १३ दिनमा एकलौटी रूपमा आफूले मात्रै अंश लिने उद्देश्यले रंगेली ४ नं. वडा कार्यालयबाट २१ वैशाख २०७९ मा मृत्यु दर्ता बनाए । त्यसपछि जेठीपटिका छोरा विरेन्द्रलाई २६ भदौ २०६५ मा ५० हजार रुपैयाँ अंश दिएको देखाएर कान्छि पटिका छोरा राजकिशोरले बावुको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याउन सर्जमिन मुचुल्का बनाए । ५ फागुन २०७९ मा एकल अंशियार देखाएर राजकिशोरले सर्जमिन मुचुल्का उठाए । उक्त सर्जमिन मुचुल्कामा उपप्रमुख झुमा पराजुली निरौलाका श्रीमान गणेश निरौला, छिमेकीहरु विनोद कुमार मण्डल, अनिल मण्डल, दिनेश मण्डल, अजय प्रसाद साह, धिरज कुमार मण्डल र प्रमानन्द मण्डले हस्ताक्षर गरिदिए ।
त्यसपछि १७ साउन २०८० मा राजकिशोरको मन्जुरीमा मृत्यु भएको बावु रामप्रसादको जग्गा उनकी आमा कौशीलादेवि साहको नाममा र घर नामसारी गरिदिन मालपोत कार्यालय रंगेलीलाई वडाअध्यक्ष अभदेश कुमार मण्डलले सिफारिस बनाइदिए । वडाले दिएको उक्त सिफारिसको आधारमा मालपोत कार्यालय रंगेलीले १८ साउन २०८० मा कौशीलादेवी साहको नाममा जग्गा नामसारी गरिदियो । वडा अध्यक्ष मण्डलले कौशीलादेवीको नाममा जग्गा नामसारीको सिफारिस दिन राजकिशोरले मोटो रकम लिएको स्रोतको दाबी छ । जेठा छोरालाई पत्तो नदिकन एकलौटी रूपमा कान्छी आमाको नाममा बावुको सम्पती ल्याउनको लागि राजकिशोरले लाखौं रुपैयाँ खर्चेको स्रोतको दाबी छ ।
वडाअध्यक्षसहित १३ विरुद्ध पक्राउ पूर्जी जारी
बावुको जग्गा एकलौटी रूपमा राजकिशोरले आफ्नो आमा कौशीलादेविको नाममा ल्याएको १० महिनापछि मात्रै जेठीपटिका छोरा विरेन्द्र कुमार साहले थाहा पाए । उक्त जग्गा बैंकमा राखेको थाहा पाएपछि मात्रै विरेन्द्रले आफ्नो बावुको नाममा रहेको जग्गा अंशबण्डा नगरि कान्छि आमा पटिका छोरा राजकिशोरले जनप्रतिनिधि र बिचौलिया प्रयोग गरि एकलौटी आफ्नो नाममा ल्याएर गत वैशाखमा थाहा पाएका हुन् ।
एकलौटी रूपमा बावुको अंश कान्छिपटिका छोराले मात्र लगेको पत्तो पाएपछि विरेन्द्रले मालपोतमा गएर हेरे । त्यसपछि उनले सरकारी कागजपत्र किर्ते गरेको थाहा पाए । किर्ते गरेको थाहा पाएका उनले जेठ १ गते वडाअध्यक्ष अवधेश कुमार मण्डलसहित १३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा सरकारी कागजपत्र र छाप किर्ते मुद्दामा जाहेरी दर्ता गराए । मोरङ प्रहरीमा जाहेरी दर्ता भएपछि ९ जेठमा वडाअध्यक्षसहित १३ जना विरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको छ । ‘अहिले घटनाको अनुसन्धान सुरू भएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले भने, ‘थप अनुसन्धानपछि अरू विषय खुल्नेछ । अहिले अनुसन्धानको क्रममा रहेका छौं ।’
अदालतबाट पक्राउ पूर्जी जारी भएपछि वडाअध्यक्षसहित १३ जना गाउँबाट अहिले फरार छन् । उनीहरुको खोजी कार्यमा प्रहरी परिचालन भएको बताइएको छ । ‘जाहेरी दर्ता भएर पक्राउ पूर्जी पनि अदालतबाट आएपछि घटनाको अनुसन्धानमा प्रहरी लागि परेको छ,’ प्रवक्ता बस्नेतले भने, ‘जाहेरीमा नाम आएका व्यक्तिहरुको खोजी कार्य भइरहेको छ ।’