विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका– १ मा रहेको श्री पञ्चायत माविमा दृष्टिविहीन राहत कोटा हटाएर खुल्लातर्फबाट शिक्षक नियुक्त गर्ने तयारी गरेको पाइएको छ ।
विगत १८ वर्षदेखि सञ्चालित प्राथमिक तह तृतीय श्रेणी अपाङ्ग दृष्टिविहीन राहत कोटाको दरबन्दी हटाएर खुलातर्फबाट शिक्षक नियुक्ति गर्ने उद्देश्यले विद्यालयले विज्ञान विषयको शिक्षकको आवेदन माग गरेको पाइएको हो ।
विद्यालयले २७ चैत २०८० मा आवेदनको अन्तिम मिति राखेर १३ चैतमा शिक्षक नियुक्तिको विज्ञापन आह्वान गरेको छ । विज्ञापन नं. ०२/२०८० राखेर दृष्टिविहीन राहत कोटा हटाएर खुलाबाट शिक्षक नियुक्ति गर्ने तयारी गरेको हो । ५ पुस २०७७ मा अपाङ्ग दृष्टिविहीन राहत कोटाबाट सुन्दरहरैंचा नगरपालिका ११ का हरिबहादुर कार्की नियुक्त गरिएको थियो । दृष्टिविहीन शिक्षक कार्कीले स्थाइमा नाम निकालेपछि पञ्चायतमा अपाङ्ग दृष्टिविहीन राहत कोटाबाट नियुक्त हुने शिक्षकको पद रिक्त थियो ।
पथरीशनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले १ फागुन २०८० र ७ चैत को अनुमति पत्रका आधारमा १३ चैतमा पञ्चायत विद्यालय व्यवस्थापन समितिको बैठकले अपाङ्गता दृष्टिविहध्ीन राहत कोटा हटाएर खुलाबाट शिक्षक छनोट गर्ने तयारी गरेको हो ।
कोटा हटाएपछि विरोध
यसरी १८ वर्षदेखि रहेको दृष्टिविहीन राहत कोटा हटाएर खुलातर्फबाट शिक्षक नियुक्ति गर्ने तयारी गरेपछि नेत्रहीन युवा संघ नेपाल मोरङले विरोध गरेको छ । नेत्रहीन युवा संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले तत्काल राहत कोटा पञ्चायत माविमा कायम गर्न र नयाँ विज्ञापन आह्वान गर्न माग गरेका हुन् । ‘वर्षौदेखि दृष्टिविहीन शिक्षकले पञ्चायतमा अध्यापन गराउँदै आएका थिए । दृष्टिविहीन राहत कोटाबाट एक जना शिक्षक नियुक्ति हुने गरेको थियो । त्यो पनि हटाएर खुलाबाट शिक्षक नियुक्ति गर्ने तयारी गरिएको छ । यो गलत अभ्यास गर्न खोजिएको हो । तत्काल नगरपालिकाले सच्याएर दृष्टिविहीन राहत कोटा कायम हुनुपर्दछ,’ अध्यक्ष योगीले भने, ‘विद्यालयले तत्काल नसच्याए हामी दृष्टिविहीनहरु आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’
दृष्टिविहिन राहत कोटा कायम गरिनुपर्ने माग राख्दै पथरीशनिश्चरे नगरपालिकाको शिक्षा शाखा र पञ्चायत माविका प्रधानाध्यापकलाई पनिे ध्यानकर्षण गराएको उनले बताए ।
परीक्षा स्थगित
नेत्रहीन युवा संघ मोरङले विरोध जनाएपछि शुक्रबार हुने भनिएको परीक्षा विद्यालयले स्थगित गरेको छ ।दृष्टिविहीन राहत कोटा हटाए प्राथामिक तह राहत दरबन्दीमा १३ जनाले आवेदन दिएको पञ्चायत माविका प्रधानध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिए । शुक्रबार हुने भनिएको परीक्षा तत्काललाई स्थगित गरिएको उनले बताए । नगरपालिकामा नेत्रहीन युवा संघ मोरङले उजुरी गरेपछि अहिले तत्काल रोकिएको उनले बताए । ‘नगरपालिकाको शिक्षा शाखाबाट थप जानकारी आएपछि शिक्षक नियुक्तिको परीक्षाको प्रक्रिया अगाडि बढनेछ,’ प्रअ बुढाथोकीले भने ।
दृष्टिविहीनको राहत कोटा हटाएको विषयमा भने आपसी समजदारी अनुसार साटफेर गरिएको प्रतिक्रिया दिए । ‘हरीबहादुर सरले शिक्षा सेवा आयोगबाट स्थायीमा नाम निकालेर अर्को विद्यालय गएपछि नगरपालिकाको निर्णय अनुसार रिक्त रहेको ठाउँमा पदपूर्ति गर्न खोजिएको हो,’ प्रअ बुढाथोकीले भने, ‘उनीहरुले उजुरी गरेपछि अब नगरपालिकाले आवश्यक निर्णय गरेपछि थप प्रक्रिया अगाडि बढाउनेछौं ।’
पथरीशनिश्चरे नगरपालिका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले समन्वय गर्ने काम गरिएकोले तत्काल परीक्षा नगरिएको बताए । ‘अहिले नियुक्ति भएको छैन । नेत्रहीन युवा संघले राखेको मागको विषयमा हामीले पनि छलफल गरेका छौं । त्यसको व्यवस्थापन हुनेछ,’ उनले भने, ‘अहिले हामी छलफलमा छौं ।’पञ्चायत माविमा २६ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू अध्ययरत रहेका छन् । दृष्टिविहीन कोटाबाट नियुक्ति भएका शिक्षकले पथरीशनिश्चरे र सामाजिक विषय अध्यापन गराउँदै आएका छन् ।
दुई जनाको कोटामा २३ जनाको आवेदन
पञ्चायत माविले थप दुई जना रिक्त रहेको शिक्षक नियुक्तिको लागि विज्ञापन आह्वान गरेपछि २३ जनाले आवेदन दिएका छन् ।प्राथमिक राहत दरबन्दी र साविक उच्च मावि (गणित विषय) शिक्षक पदपूर्तिको लागि आह्वान गरिएको विज्ञापनमा २३ जनाको दरखास्त परेको हो ।
प्राथामिक तहमा २० जना र माविमा ३ जना शिक्षकले आवेदन दिएको प्रधानध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिए ।माविका गणित बिषय पढाउने शिक्षक खगेन्द्र लामिछाने र प्राथामिक तहका शिक्षक हरीबहादुर कार्कीले स्थायीमा नाम निकालेपछि रिक्त रहेको दरबन्दी पदपूर्ति गर्न शिक्षक नियुक्तको तयारी गरेको हो । कक्षा १२ सम्म पढाइ हुने पञ्चायतमा ३ हजार १३३ जना विद्यार्थी अध्ययरत छन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।