लोड हुँदैछ...

मेनु

गुँइठा बेचेर नाति पढाउँदै

गुँइठा बेचेर नाति पढाउँदै

विराटनगर । गाउँघरमै गुँइठा बिक्रि हुन थालेपछि प्रचण्ड घाममा गुँइठा बनाउन तराई मधेशका ग्रामीण महिलाहरु यतिबेला व्यस्त छन् । गाउँमा बनाएको गुँइठा अहिले गाउँघरमै प्रतिगोटा २० रुपैयाँका दरले बिक्न थालेपछि गाउँका महिलाहरु गर्मीको पर्वाह नगरी गुँइठा बनाउने र बेच्ने कार्यलाई पेशाको रुपमा अपनाउन थालेका छन् ।
बर्खायामको वैकल्पिक इन्धनको स्रोतको रुपमा प्रयोग गरिने गुँइठा गर्मीको समयमा बनाएर भण्डारण गर्ने गरिन्छ । विशेष गरी महिलाहरुले कलात्मक आकार दिई गुँइठा बनाउने गर्दछन् ।

मधेशमा खाना पकाउने इन्धनको रुपमा प्रयोग हुने गुँइठा स्थानीय स्तरमा बिक्रीसमेत हुन थालेपछि गोवरबाट गुँइठा बनाउने कामले आम्दानी लिन सकेको करपुरिया देवीले बताइन् । जेठसम्म ‘गुँइठा’ बनाउने समय उपयुक्त हुने गरेको उनले सुनाइन् ।

गोबरमा पराल वा साना झिक्रा हालेर डोलो ‘गुँइठा’ र घरका पर्खालमा गोबर सुकाएर ‘चपरी’ पारिन्छ । गाई, भैँसी पालेका किसानले आफ्नै गोठको गोबरमा र पशुवस्तु नपाल्नेले चरन क्षेत्र र बाटाघाटाका गोबर टिपेर घरमा ल्याइ थुपारेर ‘गुइँठा’ बनाउँछन् ।

गुँइठा बनाउन महिलाहरुले गाई वस्तुको गोबर संकलन गरेर धाम लाग्ने ठाउँमा जम्मा गरी मुछेर पराल, पोगडा आदि वस्तु मिलाउँछन् । करिब दुई फुट लामो आकारको बनाएर तयार गरेको गुँइठा बर्खामा बिक्री गरी आम्दानी लिन सकिने कपुरियादेवी बताउँछिन् । तराई मधेशको दक्षिणवर्ती गाउँहरुमा खाना पकाउनका लागि दाउराको विकल्पमा गुँइठा बाल्ने चलन छ ।

ग्रामीण भेगका सार्वजनिक खेल मैदान, पोखरीको डिल, सकडपेटी लगायतका स्थानमा महिलाहरुले समयानुकुल गुँइठा बनाएर सुरक्षित ठाउँमा थुपारेर राख्ने गर्दछन् ।
तराई मधेशमा गुँइठा तीन किसिमले बनाउने गरेको पाइन्छ । गाईवस्तुले जंगलमा गएको बेला दिएको गोबर सुकाएर बनाएको गुँइठालाई वन गुँइठा (चिपडी), छठ पर्वको खरनाको दिनदेखि विधिवत रुपमा बनाउन शुरु गरेको गोइठा (गोरहा) र वर्षायामबाहेक प्रायः सबै मौसममा घरमा नै बनाइएकोलाई गोइठा नै भन्ने चलन छ । कार्तिकदेखि गोइठा बनाइ सुकाएर बर्खा लागेपछि अर्थात जेष्ठ महिनाको अन्त्यमा जम्मा गरेर घरमा राखिन्छ । यस्तो गुँइठा प्रतिगोटा २० रुपैयाँका दरले गाउँटोलमा खरिदबिक्री हुने गरेको स्थानीय महिलाहरु बताउँछन् । गुँइठाको माग बजारमा सधैं रहन्छ तर ग्रामीण भेगमा जाडो मौसममा माग बढी हुने गरेको छ ।

कपुरिया देवीले आफूले दैनिक २० देखि ४० वटा गुँइठा बेच्चे गरेको बताइन् । उनी गुँइठा बेचेर प्राप्त भएको रकमले लताकपडा किन्न सघाउने गरेको बताइन् । नातिको स्कुल खर्च पनि गुँइठाबेचेरै पु¥याइरहेको उनले बताइन् ।

सोही ठाउँका फुलचन साफीले घरमा पालेको गाई, भंैसीबाट दूधको साथै गोबरबाट गुँइठा बनाएर पनि आम्दानी लिन सकिने बताए ।इठाको समेत व्यापार हुने र राम्रो फाइदा हुने बताउँछन् । उनले गोइठा बेचेर गाईवस्तुको दाना किन्न र घर व्यवहार चलाउन सहयोग पुगेको बताए ।

गुँइठाको आगो टिकाउ हुने र खरानीसमेत प्राङ्गारिक मलको रुपमा प्रयोग हुने भएकाले गाउँघर र ग्रामीण बजारमा धेरैले यसलाई इन्धनको रुपमा प्रयोग गर्ने गरेको साफीले बताए । उनले भने, ‘तरकारी खेतीका लागि गुँइठाको खरानी राम्रो मल हुने र समय समयमा हुने ग्यासको अभावको बेला विकल्पको रुपमा काम गर्ने भएकोले यसप्रति मानिसहरु सकारात्मक नै छन् ।’

मधेशका महिलाहरुले सोहरेको गोबरलाई कलात्मक रुपमा गोइठा बनाउँदा रमाइलो लाग्ने गरेको र महिलाहरुले पनि आफनो कला प्रस्तुत गर्ने माध्यमका रुपमा यसलाई लिने गरेका छन् । महिलाहरुले रमाइलो गर्दै गोइठामा कला निखारेको दृश्य पनि रमाइलो हेर्नमा रमाइलो देखिन्छ ।’

वन गोइठा बोराको हिसाबमा बजारका होटलमा बिक्री हुन्छ । प्रतिबोरा ५० देखि ८० रुपैयाँसम्म विक्री हुन्छ, एक बोरामा करिव ४ किलोसम्म गोइठा हुनेगर्दछ । सडक तथा जंगल नजिक रहेको स्थानीयहरुले वन गोइठाको व्यापार गरेर जीविकोपार्जन गर्ने गरेका छन् । मोहलीका रामु सदाले स्थानीय जंगलबाट सोहरेर ल्याएको गोबरबाट बनाएको वन गोइठा भारदह सम्मका होटलमा बेच्ने गरेको बताए । दैनिक ५ देखि १० बोरा गोइठा बेच्ने उनले यसैलाई पेशा बनाएको बताए । दिनको दुईदेखि ३ घण्टा साइकलमा राखेर गुँइठा बिक्री गर्दछन् र त्यसपछि जनमजदुरी गर्ने नियमित काममा जान्छन्् । घरमा महिलाहरुले गुँइठा बनाउने र आफूले बेच्ने गरेको सदाले बताए । गुँइठालाई सुकाउनको लागि तलमाथि क्रम मिलाएर आयातकार बनाएर राख्ने गरिन्छ । स्थानीय बूढापाका भन्छन्–‘गुँइठाको आगोमा बनाएको खाना स्वादिलो हुन्छ ।’
फोटो क्याप्सन ः कलात्मक गुँइठा बनाउँदै ग्रामीण

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।