विराटनगर । विराटनगर–७ जलजला रोडमा पुरानो ‘डाइमन सेभ’ घर छ । विराटनरका पुराना घरहरुमध्येको यो एक घर हो । उक्त घर ९२ वर्षीय मुकुन्द नेपाल र ८७ वर्षीय बनि नेपाल दम्पत्तीको हो । खुल्ला ठाउँ, शितल घर, पुराना इँटाले बनेको यो घर नयाँ प्रविधि आएसँगै परिमार्जन हुँदै गयो । तर, घरको आकार र साइज भने त्यही छ ।
मुकुन्द नेपाल (९२) ले विराटनगर जुटमिल्समा १८ वर्षभन्दा लामो समय काम गरे । कलकत्तामा आइए, बम्बइमा एमए एलएलबी गरेका नेपालले बेलायतमा गएर राजनीतिशास्त्रमा मास्टर्स गरे । यो कुरा २०१५ सालको हो ।
कलकत्तामा पढ्ने क्रममै देखाभेट भएकी बनि नेपालसँग २०१५ सालमै मागी विवाह भयो । बनि नेपाल पनि ८७ वर्षकी भइन् । कालिङपोङका सांसदको छोरी उनी सुख सुविधाले हुर्किएकी थिइन् । उनले अंग्रेजीमा डिग्रि गरेकी छिन् । विवाह पछि २ वर्ष चाइना बसेर चाइनिज भाषा सिकिन् र बेलायतमा बसेर मन्टेश्वरीबारे अध्ययन गरिन् । उनै दुई दम्पत्तीले आजभन्दा झण्डै ६५ वर्ष अगाडि देखेको विराटनगर कस्तो थियो ? उनीहरुले अहिलेको नयाँ पुस्तालाई कसरी लिएका छन् ? लामो समय विराटनगर जुटमिल्समा काम गरेका नेपालको अनुभवमा जुटमिल चल्छ ? यिनै विषयमा केन्द्रीत भएर भलाकुसारी गर्यौं ।
त्यसबेलाको विराटनगर
‘मेरो घरदेखि पूर्व पश्चिम ६ वटा मात्रै थियो । हामी आफ्नै दाजुभाई मात्रै थियौं । त्यसबेला सुवेदार अनन्तराम देवकोटा हुनुहुन्थ्यो । उहाँ शिक्षित हुनुहुन्थ्यो । राणाको पालामा रेडियो राख्न पाइँदैन थियो । उहाँको घरमा रेडियो, बन्दुक थियो । एति लामो टेलिस्कोप राख्नु भएको थियो । प्लेन उड्यो भने ए केटा हो आउ आउ भनेर प्लेन हेर्न टेलिस्कोप दिनुहुन्थ्यो । मिनराज पाण्डेको घरमा पनि रेडियो थियो । त्यसबेला राणाबाट बक्साएर मात्रै रेडियो राख्न पाइन्थ्यो,’ नेपालले त्यो विराटनगरबारे बेलिविस्तार लगाए, ‘यहाँ नजिकै धान कुटाउने, तेल पेल्ने मिल थियो । पूर्वाञ्चलमा यही एउटा मात्रै मिल थियो । बुबाहरुले साँझ परेपछि घर अगाडि निस्कनै दिनुहुँदैन थियो । बाघ आउँथ्यो, अर्ना आउँथ्यो ।’
नेपाललाई बलदेब शमशेर मिलिट्रीको हेड हुँदा बाघ मारेको सम्झना छ । साँझ परेपछि बाटो अन्धकार हुन्थ्यो । ५–६ वटा घर पूर्वतिर, ५–६ वटा घर पश्चिमतिर थियो । बिजुली थिएन । टुकी बालेर बस्नु पथ्र्यो । उनले भन्दै गर्दा श्रीमतीले भनिन्, ‘म विवाह गरेर आउँदा विराटनगर जुनकिरी जस्तै थियो । उहाँ कलकत्ताबाट आउँदा कस्तो अनौठो देखेको थिएँ ।’
उनले हत्तेरीका यो त मधेश जस्तो सबै मधेशीहरु मात्रै देखिन्छ त भनेर प्रश्न गरेकी थिइन् । ‘कलकत्तामा सबै नेपाली बोल्ने । नाता लगाएर मात्रै बोल्ने गर्थे । यहाँ त यस्तो छैन त भनेपछि मेरो काकाले तलाई नेपाल देखाउँछु भनेर धरान घुमाउन लानु भयो । अनि नेपाल त यस्तो रहेछ भन्ने थाहा भयो । अहिले त विराटनगर नै स्वर्ग लाग्छ । घर अगाडि नै पिच बाटो छ । जहाँ जाँन मन लागेपनि सिटी, सफारी आउँछन् । लगिदिन्छन्,’ बनिले भनिन् ।
विराटनगरमा बिजुली कति सालमा आयो ? उनलाई ठ्याक्कै याद छैन । तर, बिजुली आउँदा मथुरा खरदार (नेवार)को घरमा पहिलो पटक बिजुली जडान भएको नेपाल दम्पत्तीलाई याद छ । ‘बिजुलीे हेर्न हामी त्यहाँ गएका थियौं । अहिले त यस्तो विकास भयो । घर अगाडिको बाटोमा ठूलाठूला खाल्डो हुन्थ्यो । बस गुड्थ्यो । अहिलेको ट्याक्स अफिसलाई हामी बजार अड्डा भन्थ्यौं । त्यो बजार अड्डाबाट बस धरान जान्थ्यो । धरान रोड यहाँसम्म कनेक्सन नै थिएन । धूलाम्से सडक थियो । इँटा पनि बिछ्याइएको थिएन सडकमा । इँटा बिछ्याउँदा हामी रोड राम्रो भयो भनेर धेरै खुसी भयौं,’ मुकुन्द नेपालले भने ।
उनले बाटोमा इँटा राखेपछि बेलायतबाट कार लिएर आएका थिए । ‘मैले बेलायतबाट एउटा कार लिएर आएको थिएँ । कलकत्ता बन्दरगाहा हुँदै ल्याएको हुँ । मैले कार लिएर आउँदा बडा हाकिमको कार्यालयमा एक, जुटमिलमा एउटा कार थियो । मैले लिएर आएपछि तीन वटा भएको हो,’ उनले सुनाए । बेलायतबाट विराटनगरसम्म ल्याउँदा कारको मूल्य २५ हजार रुपैयाँ पुगेको उनको अनुमान छ । त्यसबेला २० रुपैयाँ २५ रुपैयाँमा एक विगाहा जग्गा पाइन्थ्यो ।
गाडीको प्रसंग आएपछि बनि नेपालले आफ्ना श्रीमान्तिर हेर्दै भनिन्, ‘उहाँले गाडी लिएर आउनु भएको १८–१९ सालमा होला । १५ सालमा विवाह भयो । दुई वर्ष म चीनमा बसे । ९ महिना बेलायत बसें । त्यसपछि सँगै नेपाल आएका हौं । त्यही बेला कार ल्याउनु भएको हो ।’
त्यसबेला उनैले गाडी हाँक्न सिकिसकेका थिए । लाइसेन्स त चाहियो । अहिलेको सेन्टर मल छेउमा एउटा इन्स्पेक्टर अफिस जस्तो थियो । ‘मैले गाडी लिएर गएँ । इन्स्पेक्टरले सोध्यो किन आउनु भयो ? मैले भने लाइसेन्स लिन आएको । उ भित्र पस्यो र एउटा कागज दियो । मैले सोधे, ‘ट्रायल दिनु पर्दैन ?’ । उसले भन्यो, ‘ट्रायल त मैले अगाडि नै देखिसकेँ नि ।’ त्यस्तो अवस्था थियो । अहिले त लाइन बसेर ट्रायल दिनुपर्छ रे,’ उनले भने ।
महेन्द्र चोक र ट्राफिक चोककोबीचको लिङ्क रोड पछि मात्रै बनेको हो । महेन्द्र चोकमा हिराबाबु पोखरेलले घर बनाउँदा उनले भनेको थिए रे, ‘यो जंगलमा के घर बनाएको होला । हाम्रो घर अगाडि त मान्छे हिंड्दैन थिए । त्यहाँ त जङ्गल ।’ धरान–विराटनगर रोडमा मान्छे बोकेका ट्रक बिहान एक पटक, बेलुका एक पटक चल्थे । बस पनि त्यस्तै एक दुई पटक आवत–जावत हुन्थ्यो । ‘म कति पटक यहाँबाट जोगबनीसम्म हिंडेरै जान्थें । पक्काको घर एउटा पनि थिएन । (आफ्नै घर देखाउँदै) यो पनि काठको घर थियो । यसमा इँटाको जोडाइ पनि छ । जसरी विकास हुँदै गयो त्यसरी नै यो घर परिमार्जन हुँदै गयो,’ आफ्नो घर देखाउँदै नेपालले भने ।
नयाँ पुस्तामा देशभक्ति छैन
नयाँ पुस्ताले धेरै जाने बुझेको भएपनि देशप्रतिको माया ममता भने नराखेको उनीहरुको अनुभव छ । ‘अहिलेका पुस्तासँग हाम्रो धेरै जेनेरेसन ग्याप छ । हामीले भन्दा धेरै जानेका छन् । तर मुलुक छोडेर जान उद्यत छन् । मानिसको घरघरबाट अमेरिका, बेलायत, न्यूजिल्याण्ड र अष्ट्रेलिया गइरहेका छन् । पहिले पहिले त हामी पनि बेलायत बसेका हौं नि । तर, बुबा आमालाई हेर्नुपर्छ भन्ने विचारले फर्केर आयौं । मलाई अमेरिकामा धेरै अफर आएको हो । तर म कहिल्यै अमेरिका गइन,’ नेपालले भने, ‘पढ्नका लागि अरु मुलुक जाने हो । तर, नेपाल फर्किनु पर्छ । यहाँ आफ्ना बुबा–आमा एक्लै हुनुहुन्छ ।’
अहिलेका केटाकेटीमा देशभक्ति नभएको उनको भनाइ छ । ‘कुनैकुनै घरमा बाबु, आमा, छोरा, नाती छन् । उनीहरुको करोडौं सम्पत्ती छ । तर, आज ति घरमा कोही पनि छैन । सबै विदेश गए । त्यत्रो सम्पत्ती भएको मान्छे आफ्नो मुलुकमा नबसेर अर्को मुलुकमा किन गएको ? आजकाल त्यस्तो विचारका मानिसहरु धेरै भए । आफ्नो मुलुकमा मानिसहरु बस्न किन चाहँदैनन् । मैले बुझ्न सकेको छैन,’ उनको दुःखेसो छ ।
आफ्ना श्रीमान् मुकुन्द नेपालले भनेको कुरामा सही थाप्दै माओत्सेतुङको पालामा आफूले देखेको चीनको दुःख सुनाउन थालिन बनि नेपालले, ‘चाइनाले यत्रो प्रगति गरेको छ । यत्तिकै होइन । बाटोको खाली जग्गा पनि खाली छोडेको छैन । रुसले नाकाबन्दी गरेको बेला भोकमरी लाग्यो । त्यसबेला सबै नागरिकहरु खटेर देश बनाउँ भने । त्यतिबेला धेरै गरिवी थियो । सरकारले वर्षमा २ मिटर मात्रै कपडा दिन्थ्यो । त्यो कपडाले घुँडा र कुहिनामा फाटेको टाल्नु पथ्र्यो । त्यो राष्ट्रपतिदेखि तल्लो तहको जनतासम्मले एकै नासले कार्यान्वयन गर्थे । सरकारले केशमा तेल नलाउन आव्हान गर्दा नागरिकले मानेका थिए,’ बनि नेपालले भनिन्, ‘नेपालमा किन विकास भएन । हामी कसैको गुलाम नभएर पो हो कि ? गुलाम भएका देशहरु विकसित बनेका छन् । त्यहाँ सबै अँग्रेजले सिकाएको हो । चाइनिज हरेक नागरिकको सपना धनी बन्ने थियो । मसँग पढेका साथीहरुलाई सोध्दा उनीहरु भन्थे, ‘मलाई एउटा साइकल किन्ने धोको छ ।’ तर, अहिले सबैले कार कुदाउँछन् । ‘नेपालमा भोकमरी नलाग्नु, ठूलो संकट नआउनु पनि ब्याड लक नै हो कि जस्तो लाग्छ ।’ कुराकानीका क्रममा नेपाल दम्पत्तीले नै धेरै आफ्ना साथीसङ्गीका छोराछोरीले नेपाल छोडेको भन्दै चित्त दुखाए ।
कुरैकुरामा मुकुन्द नेपालले थपे, ‘चाइनामा फाटेको तर टालेको सबैले एकनासको लुगा लगाउँथे । त्यो मेल हो कि फिमेल हो चिन्न पनि गाह्रो थियो । माओत्सेतुङ जुत्ता बनाउनेको छोरा हो । तर, कत्रो त्याग गरेर चाइना बनाएको हो । बाफरे बाफ । नेपालमा के छैन ? यत्रो सम्भावना छ । भारतको अहिलेको प्रधानमन्त्री मोदीले पनि भनेका छन् । नेपाल धेरै धनि देश हो भनेर ।’ मोदीको नाम लिने बित्तिकै बनिले भने दक्षिण एशियाबारे अंग्रेजीमा लेखिएको एक पुस्तक देखाउँदै भनिन्, ‘यि यसरी खान खोजिरहेको छ नेपाललाई त्यही मोदीले ।’
विराटनगरको भविष्यप्रति चिन्ता
कुराकानीकै क्रममा बनिले भनिन्, ‘यो विराटनगरलाई कसरी उकास्ने ? कस्ता कस्ता दिन थिए ? विपी, गिरिजाबाबु, मातृकाबाबुहरु थिए । उनीहरुले विराटनगरलाई धेरै माथि लगे । अब कस्ले त्यो विरासत बोक्ने । शेखरले त गर्छन् जस्तो लाग्दैन । विराटनगर यत्तिकै सेलाएर बस्छ त अब ? ।’
उनको एउटै चासो थियो, ‘अब विराटनगरलाई कसरी उकास्ने त ? ।’ जवाफमा मैले भने, ‘सबैले विराटनगर कमजोर भएको महसुस गर्नुपर्यो । अनि मात्रै बन्छ ।’ यो कुरामा सहमति जाहेर गर्दै नेपालले टेबल ठोके । तर, अहिले देखिएको पात्रले केही गर्न नसक्ने उनको अनुभव छ । ‘अहिले देखिएकाले कसैले गर्दैनन् । सबै सुतेर बसेका छन् । मेरो घर अगाडि पनि बाटो चौडा गर्न भनेर आए । मैले मेरो घरको एउटा कोठै गयो । तोड्न भने । तर, जब पारिपट्टि चिनो लगाएको ठाउँमा हात पनि हालेन्,’ अहिलेका मेयर नागेश कोइरालाको नाम लिँदै उनले भने, ‘हामी जानुभन्दा अगाडि नै कोही आए त विराटनगर बनेको देखेर जान पाउँथ्यौं कि…. हा हा हा…’ श्रीमती बनि नेपालले हाँस्दै आफ्नो भावना पोखिन् ।
विराटनगरको विगतको वैभव फर्काउन कोइराला परिवारले गरेका सानादेखि ठूला कुराको पनि उनीहरुले चर्चा गरे । ‘कोइराला परिवारले आफैं काउली फलाएर जनतालाई खुवाउँथे । कृष्णप्रसाद कोइराला, उनका छोरा विपी, तारिणी, शेखरको बुबा, गिरिजाप्रसाद कोइराला त तपाईले चिन्नु नै भएको छ । उनीहरु कस्ता थिए ? साह्रै सभ्य थिए,’ नेपालले भने, ‘अहिले त्यस्ता नेता देखिएको छैन ।’
बनिलाई स्कुल पढाउनै दिएनन्
त्यसबेला सुष्मा कोइराला, नलिनी कोइराला, इन्दिरा कोइराला सबै कोइरालाहरुले मिलेर बालिका स्कुल चलाएको बनि नेपालले बताइन् । ‘म पनि अंग्रेजी पढाउन गएको थिएँ । बिहानदेखि बेलुका सम्म पढाएको पढाकै गर्नुपथ्र्यो । खाजा पनि नदिएको कस्तो होला भनेर मैले भनेको कोइरालाहरुले आँखा ठूलो पारेर हेर्थे,’ उनले सुनाइन् । ‘आदर्श विद्यालयमा पहिलो पटक विद्यार्थी भर्ना हुँदा नाम लेखाउने मेरो दाजु माधवप्रसाद नेपाल हो । दोस्रो नम्बरमा लेखाएको गिरिजाप्रसाद कोइरालाले हो । बालिकाहरू पढाउने बालिका स्कुलमा गर्थे,’ फेरि मुकुन्द नेपालले थपे ।
तर, बनि नेपालले बालिका स्कुलमा धेरै पढाउन पाइनन् । विवाह भएको अर्को वर्ष चैत महिना छल्न (माइत) कलकत्ता गइन् । ससुरा विष्णुप्रसाद नेपाललाई उनले (बुहारी) स्कुलमा पढाएको चित्त बुझेको रहेनछ । ससुराबाले उनको भिनाजुलाई चिठी लेखेर बुहारी स्कुल जान्छे भनेर गुनासो गरेछन् । त्यसपछि बनिका बुबा लक्ष्मीनन्दन जोशीले झपारेर आफ्नै अगाडि राजीनामा लेख्न लगाए । त्यसपछि उनले राजीनामा लेखेर पठाइदिइन् । त्यसबेलाको आफूले भोगेको जस्तो अहिले नरहेको उनी सुनाउँछिन् ।
‘अहिले त नेपालका महिलाहरु धेरै बाठा भएका छन् । पहिले जस्तो धेरै बुहार्थन सहेर बस्नु परेको छैन । हामी नेपाली महिलाहरु भारतीय महिला भन्दा धेरै शिक्षित छन् । नेपालमा त्यस्तो गरिवी पनि छैन,’ उनले भनिन् । स्कुल पढाउन छोडेपछि उनी जेसि बाल सदनमा प्राचार्यको भूमिकामा रहेर पढाउन थालिन् । उक्त स्कुल भने घर अगाडि नै भएको कारण कसैले गुनासो गरेनन् । त्यहाँ उनले ६ वर्ष अध्यापन गराइन् । त्यसपछि बनिले सिबिआरमा ५ वर्ष काम गरिन् । सिबिआरको काम छोडेपछि उनी फेरि रेडक्रसमा आवद्ध भइन् ।
मुकुन्द नेपालले भने विराटनगर जुट मिल्समा १८ वर्ष काम गरे । ‘साल कति हो भन्न सक्दिन । म बेलायत पढेर आएको थिएँ । काठमाडौंको खिचापोखरीमा हिंडिरहेको थिएँ । जुद्धबहादुर श्रेष्ठले भेट्टाए र भने ए तिमी किन हल्लिएको ? यसरी हल्लिने होइन । जुटमिलमा काम गर्नुपर्छ भनेर काममा लगाइदिए,’ जुटमिल्समा काम सुरु गरेको सम्झिए ।
सेल्स म्यान, स्टोरमा, खरिद शाखामा काम गर्दै जुट मिल्स संचालक समितिको सदस्य भएर पनि उनले काम गरे । उनी भन्दा सिनियर भगिरथ सिंह प्रधान, लिलाप्रसाद लोहनी थिए । उनीहरुको शेखापछि जुटमिलको प्रशासन प्रमुख भएर पनि काम गरे । उनी आफैं कलकत्ता, गुहाटी जान्थे । ‘तलबको भरमा काम गर्न गएको होइन । सुरुमा मेरो तलब ५ सय थियो । म मेरो समय कटोस् भनेर नोकरी गर्न गएको हुँ । म लयर पनि हुँ । त्यता पनि म जान सक्थें । तर, त्यसबेलाको कानून व्यवसायी बन्न मलाई चित्त बुझेन । त्यही कारण मैले जुटमिलमा काम गरेको हुँ,’ उनले सुनाए ।
उनको बुबा विष्णुप्रसाद नेपाल अमिन थिए । अड्डा अदालतका कुरा पनि जान्दथे । विराटनगरको बडा हाकिम सोम शमशेरले उनलाई अमिनको काममा लगाइदिएका थिए । जुटमिल आन्दोलन, विराटनगरको प्रजातान्त्रिक आन्दोलन बारेमा उनलाई धेरै थाहा छैन । त्यसबेला उनी बेलायतमा पढ्दै थिए । ‘थाहा पाएको कुरा पनि बिर्सिएँ । मलाई धेरै थाहा थियो । मेरो साथीहरुको नाम पनि बिर्सिएँ । यो उमेरको कुरा रहेछ,’ उनले भने ।
अहिले जुटमिलमा रात दिन चोरी भइरहेको सुनेको भन्दै उनले दुःखेसो पोखे । ‘सरकारले हेर्नुपर्ने हो । अब यो जुटमिल चल्दैन । पुरानो मेसिनले जुटमिललाई फाइदा गर्दैन । अब जुटमिलका लागि पटुवा कसैले लगाउँदैन । बाहिरबाट जुट ल्याएर यसरी चल्न सक्दैन । चल्यो भने पनि यो मेसिनले धान्दैन । कतिपय पार्टहरु चोरी भइरहेको सुनेको छु । यसको जिम्मेवारी को ? मलाई थाहा छैन । सरकार वास्ता गर्दैन,’ नेपालले भने ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।