विराटनगर । सगरमाथा क्षेत्रमा बुधबारदेखि शुरू भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन् । यो क्षेत्रमा यसपटक भारी हिउँ परेको हो ।

चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ । पर्यटकदेखि बालबालिका हिउँ खेलेर रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताए । उनका अनुसार खुम्बु क्षेत्रमा आठदेखि दश इन्चसम्म हिउँ जमेको छ ।

हिमपातपछि किसान भने खुसी भएका छन् । यतिखेर हिमाली भेगमा आलु रोप्ने समय हो । विगतमा पुस, माघमा पर्ने हिउँ अहिले चैतमा परेपछि पर्यटन व्यवसायी समेत आश्चर्यमा परेका छन् ।

जलवायु परिवर्तनको असरका कारण हिमाली भेगमा अस्वाभाविक प्रणाली देखिन थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।