लोड हुँदैछ...

मेनु

सामग्री अभावले प्रयोगविहीन डिस्प्ले बोर्ड

सामग्री अभावले प्रयोगविहीन डिस्प्ले बोर्ड

विराटनगर । पुननिर्माण गरेर चिटिक्क बनेकोे विराटनगर महानगरपालिकाको पुरानो भवनको मुखाकृतिको माथिल्लो भागमा एउटा कालो रंगको बोर्ड जडान भएको देखिन्छ । उक्त बोर्ड झण्डै पाँच महिनाअघि जडान गरिएको हो । आधुनिक डिजिटल डिस्प्ले बोर्ड जडान गरेको भए पनि महानगरपालिकाले लामो समयसम्म उक्त बोर्ड सञ्चालनमा छैन ।
महानगरपालिकाले आठ लाख रुपैयाँ खर्चेर डिस्प्ले बोर्ड खरिद गरेको महिनौं बितिसक्दा पनि सञ्चालन गरेको छैन । डिस्प्ले बोर्डबाट के र कस्ता सामग्री प्रशारण गर्ने भन्ने टुंगो नभएका कारण महानगरले लाखौं खर्चेर खरिद गरेको डिस्प्ले बोर्ड प्रयोगविहीन बनेको हो ।

महानगरपालिकाको जिन्सी शाखाले खरिद गरेर सूचना प्रविधि शाखालाई उपलब्ध गराएको डिस्प्ले बोर्ड समयमै जडान भएको थियो । तर त्यो सञ्चालनमा ल्याउन भने सूचना प्रविधि शाखाले सकेको छैन । ‘हामीले बोर्ड प्राप्त हुनासाथ जडान गरेर तयारी अवस्थामा राखेका छौं,’ महानगरका सूचना प्रविधि अधिकृत इन्जिनियर अर्चना कर्णले भनिन् ‘महानगरपालिका प्रमुख ज्यूबाट निर्देशन हुने बितिकै हामी प्रशारण गर्ने तयारी अवस्थामा छौं ।’

सूचना प्रविधि शाखाले डिस्प्ले बोर्ड जडान गरेपछि सञ्चालन गर्ने विषयमा छलफल गरेको थियो । तर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले केही समयपछि सञ्चालन गर्न भनेपछि रोकिएको थियो । मुख्यगरी महानगरपालिकासँग डिस्प्ले बोर्डबाट के सामग्री प्रशारण गर्ने भन्ने योजना नभएकै कारण बोर्ड सञ्चालन नभएको कर्मचारीहरुको बुझाइ छ ।

विराटनगर महानगरपालिकाका लागि डिस्प्ले बोर्डको खासै आवश्यकता नभए पनि महानगरका उपप्रमुख शिल्पा निराला कार्कीको जोडबलमा बोर्ड खरिद गरिएको एक कर्मचारीले बताएका छन् । कोटेशन मार्फत खरिद गरिएको डिस्प्ले बोर्ड उपप्रमुखले सिफारिस गरेकै कम्पनीबाट गरिएको ती कर्मचारीको दाबी छ ।

डिस्प्ले बोर्डबाट कस्ता सामग्री प्रशारण गर्ने ? नागरिक बडापत्र राख्ने कि, विकास निर्माणका प्रगति, महत्वपूर्ण सूचना, भिडियो डकुमेन्ट्री वा अरु कस्ता सामग्री प्रशारण गर्ने भन्ने विषयमा महानगर प्रष्ट नभएका कारण डिस्प्ले बोर्ड सञ्चालन नभएको हो । महानगरले डिस्प्ले बोर्ड खरिद गर्नु पर्ने आवश्यकता निक्र्यौल नगरी सामान किनेका कारण अहिले अन्यौलमा परेको एक कर्मचारीले बताए ।

विराटननगर महानगरपालिकाले नयाँ डिस्प्ले बोर्ड खरिद गर्ने निर्णय गर्दा नयाँ भवनमा सानो आकारको डिस्प्ले बोर्ड लागिरहेकै थियो । विराटनगर महानगरपालिकाको नाम अंकित उक्त बोर्ड भने केही महिनायता बिग्रिएको छ । चार वर्षअघि ३ लाख एक हजार रुपैयाँमा खरिद गरेको डिस्प्ले बोर्ड घामपानीले गर्दा बिग्रिएको र मर्मतका लागि पठाएको महानगरले जानकारी दिएको छ । सानो अकाकारको बोर्डबाट अरु धेरै विवरण र भिडियो सामग्री प्रशारण गर्न नसकिने भएकोले नयाँ बोर्ड खरिद गर्नु परेको कारण दिने गरेको महानगरले ८ लाख रुपैयाँ खर्च गरेर किनेको बोर्ड झण्डै आधा वर्षदेखि प्रसारण सामग्री निक्र्यौल गर्न नसकेकै कारण प्रयोगमा भने ल्याउन नसकेको हो

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।