विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ३ दूधकोसी किनारको भीरमा भेटिएको शव प्रहरीले निकाल्न सकेको छैन ।
अनकन्टार भीरमा भएका कारणले समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामचन्द्र साहाले बताए ।‘आफन्तहरू काठमाडौंमा भएकाले आएपछि मात्रै शव निकाल्नु भनेर प्रहरीलाई भनेका रहेछन्,’ निरीक्षक साहाले भने, ‘आफन्तहरू आज आइपुग्छन् होला । अनि भोलि मात्रै शव भीरबाट निकाल्छौं ।’
शव निकाल्नका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा लिइने उनले बताए । मृतक दूधकोसी गाउँपालिका वडा नम्बर १ का २५ वर्षका केशव राई गत फागुन २७ गतेबाट बेपत्ता थिए ।
प्रहरीले शवको पहिचान भने ड्रोन क्यामराबाट गरेको थियो ।
‘उनले बोरामा कपडा तथा अन्य सामग्री पनि बोकेका रहेछन् । त्यो सामग्री पनि भेटिएको छ । उनले बोकेको झोला पनि भेटिएको छ । ड्रोन क्यामराबाट फोटो खिचेर स्थानीयलाई देखायौं । स्थानीयले उसकै तस्वीर भएको बताएका छन्’, उनले भने ।
हत्या कि आत्महत्या भन्ने शव पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाहा हुने उनले बताए ।

