उर्लाबारी । पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि मोरङको कानेपोखरीबाट रुख कटान सुरु भएको छ ।
‘दुई लेन’सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एसियन राजमार्गको पश्चिम खण्डमा मंगलबारदेखि रुख कटान सुरु भएको हो ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले पश्चिम खण्डको रुख कटानको सुरुवात गरेका हुन् । बाटो विस्तारको लागि रुख काट्नु स्वभाविक रहेपनि रुख काट्नका लागि बाटो बनाउने प्रबृत्ति भने रोक्नुपर्ने मन्त्री उप्रेतीले बताए । ‘एसियन हाइवे’ समयमै निर्माण गर्न प्रदेश सरकारले बाधा अड्चनहरुमा सहजीकरण गर्ने उनले प्रतिबद्धता जाहेर गरेका छन् ।
‘एसियन हाइवे’ गौरबको योजना भएकोले कुनैपनि बहानामा निर्माण कार्यमा ढिलाइ हुन नहुने मन्त्री उप्रेतीले बताए । एसियाली विकास बैंकको सहयोगमा एसियन हाईवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक चार लेनको काम अघि बढेको सडक आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए ।
सातदेखि ११ मिटर चौडाइको बिटुमिन सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाउने लक्ष्य छ । एसियाली विकास बैंकको २८ अर्ब १७ करोड रुपैयाँको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व पश्चिम राजमार्गको १२० किलोमिटर क्षेत्र चार लेनको बनाइनेछ ।
सो क्षेत्रमा ७१ वटा नयाँ पुलसहित राजमार्ग विस्तार हुनेछ । राजमार्ग विस्तारका क्रममा १२ हजारभन्दा बढी रूख कटान हुनेछन् । एसियाका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ अन्तर्गत मेचीपुल निर्माणसँगै झापामा एक किलोमिटर सडक निर्माण भइसकेको छ । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा गरिएको छ ।

