विराटनगर । मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् ।

बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।

बमबहादुरले बुधबार बिहान १ः४० बजेतिर दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार दाउ प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको थियो ।

पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल ल्याइएकोमा मृत्यु भएको हो ।

हत्याको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ । गीताको शव अहिलेसम्म घटनास्थलमै छ भने बमबहादुरको शव कोशी अस्पतालमा रहेको छ ।

बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेका थिए । उनीहरुका ८ वर्षीय छोरा छन् । बमबहादुरले छोरामाथि पनि आक्रमणको प्रयास गरेकोमा उनी भने भागेर बाँचेको प्रहरीले जनाएको छ ।

मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए । मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आएको थियो । लगत्तै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो ।