विराटनगर । विराटनगर महानगरका निजी विद्यालयहरुमा अनुमति नलिई माथिल्ला कक्षाहरु सञ्चालन गर्ने प्रवृत्ति बढेको पाइएको छ । नियमित अनुगमन नगर्ने र जानकारी पाएर पनि कारवाही नगर्ने प्रवृत्तिको फाइदा उठाउँदै शिक्षा क्षेत्रमा थप बेथिति बढेको हो ।
विराटनगर १५ स्थित बैंक रोडमा सञ्चालन भइरहेको द लता वृन्दाबन मोन्टेश्वरी स्कुलले अनुमति लिएभन्दा माथिल्ला कक्षाहरु सञ्चालन गरिरहेको पाइएको छ । अनुमति नलिई थप कक्षाहरु सञ्चालन गरेपनि विराटनगर महानगरपालिकाले उक्त विद्यालयलाई कारवाहीको दायरामा ल्याएको छैन । उक्त विद्यालयले मन्टेश्वरी सञ्चालनको अनुमति लिएर कक्षा ५ सम्म सञ्चालन गर्ने गरेको छ ।
विराटरनगरमा महानगरपालिका १५ स्थित चौधरी टोलमा सञ्चालन गर्ने अनुमति उसले महानगरबाट लिएको छ । तर ठाउँसारीसमेत नगरी उक्त विद्यालय बैंक रोडमा सारेको छ भने कक्षा ५ सम्म कक्षा सञ्चालन गर्ने गरेको छ ।
महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय शैक्षिक प्रशासन महाशाखाबाट शैक्षिक सत्र २०७९ सालदेखि पूर्व प्राथमिक कक्षा (मन्देश्वरी) सञ्चालनको अनुमति लिएको देखिन्छ । विराटनगर १५ चौधरी टोलमा सञ्चालन गर्ने अनुमति लिएको उक्त विद्यालय अहिले त्यस ठाउँमा छैन । महानगरको जानकारी बिनानै विद्यालय बैंक रोडमा दुई वर्षअगाडि नै सारिएको थियो ।
भौतिक संरचनासमेत अपर्याप्त भएको सो स्कुलले मन्टेश्वरी बाहेकका विद्यार्थीहरुलाई भने गोदावरी स्केन्डरी स्कुलबाट परीक्षा दिन लगाउने गरेको छ ।शिक्षा ऐन २०७६ तथा संस्थागत विद्यालय मापढण्ड निर्देशिका २०६९ को प्रावधानअनुसार विद्यालय सञ्चालन गर्न नजिकको दुई विद्यालयको स्वीकृित लिर्नु पर्ने र विद्यालयबाट अर्को विद्यालयको दुरी ५०० मिटर हुनु पर्ने प्रावधान भएता पनि नजिकै रहेको श्री मनोकामना इग्लिस बोर्डिङ स्कुलकोसमेत स्वीकृति लिएको छैन ।
सञ्चालन अनुमति लिएको ठाउँभन्दा फरक स्थानमा आफ्नो विद्यालयसँग टाँसेरै विद्यालय सञ्चालन गरेको भन्दै मनोकामना स्कुलले वडा कार्यालय विराटनगर १५ मा उजुरी गरेको थियो । विद्यालयको उजुरीका आधारमा वडा कार्यालयले कारवाहीका लागि महानगरको शैक्षिक महाशाखालाई लेखिपठाएको भएपनि कुनै कारवाही भएको छैन । वडा कार्यालयले २०७८ माघ ११ गते नै महानगरलाई पत्राचार गरेको थियो तर महानगरले भने त्यसविषयमा नै अनविज्ञता प्रकट गरेको छ । महानगरपालिकाको शैक्षिक महाशाखाका प्रमुख कृष्ण भट्टराईले भने ‘मन्टेश्वरीको अनुमति लिएर कक्षा ५ सम्म विद्यालय चलाउनै पाइदैन, त्यस्तो भएको छ भने हामी बुझ्छौं तर यसअघि वडाबाट कारवाहीका लागि सिफारिस गरेको विषयमा भने मलाई जानकारी भएन ।’
शिक्षा नियमावली अनुसार स्वीकृति लिएभन्दा बाहेक विद्यालय सञ्चालन गर्न हुँदैन । तर पहुँचको भरमा गैरकानुनी रुपमा विद्यालय सञ्चालन भइरहेको सो मन्टेश्वरीले बालबालिकाको भविष्यसँग खेलवाड गर्ने काम भइरहेकोप्रति सरोकारवालाहरुले असन्तुष्टि जनाएका छन् ।
अपर्याप्त भौतिक पूर्वाधार रहेको उक्त विद्यालयले सस्तोमा विद्यार्थी पढाउने भन्दै विद्यार्थी तान्ने अभियान नै चलाएको छ । कम शुल्क तोकिएका कारण अभिभावकहरु सञ्चालन अनुमति नै नलिएको विद्यालयमा विद्यार्थी पठाउने गरेका छन् । विद्यालयमा अहिले १३० जना विद्यार्थीहरु अध्ययनरत रहेको सञ्चालक वृजेश पासवानले जानकारी दिए ।
उनले आफूहरुले मन्टेश्वरीसहित प्ले गु्रप , नर्सरी, युकेजी मात्रै सञ्चालन गरेर बाँकी विद्यार्थीलाई गोदावरी सेकेन्डी स्कुलमा पठाउने गरेको बताए । उनले भने –‘विद्यालयमा तिर्नु पर्ने शुल्क आफूले नै लिने गरे पनि विद्यार्थीलाई गोदावरीमा पठाउने गरेको छु ।’
अविभावकले एउटै स्कुलमा पठाउने भन्ने गरेकाले विद्यार्थीहरुको शुल्क मोन्टेश्वरीमा नै लिने गरेको सञ्चालक पासवानले बताए ।
स्कुलको सहयोगी कर्मचारीले कक्षा ५ सम्म पठनपाठन भइरहेको बताएका छन् । तर अनुमति लिएभन्दा माथिल्ला कक्षाहरु आफूले नचलाएको बरु विद्यालयमा विद्यार्थी जम्मा पारेर गोदावरीमा पठाउने र उनीहरुको शुल्क आफूले संकलन गर्ने गरेको सञ्चालक पासवानले स्वीकार गरेका छन् । उनले विद्यालयको ठाउँसारी गर्दा महानगर र नजिकका दुई विद्यालयहरुलाई मौखिक जानकारी दिएको दावी गरेका छन् ।

