नेपालबारे जानकार भारतीय प्राध्यापक एसडि मुनीले भने : मलाई माओवादी बनाए

‘जनयुद्ध अन्त्य हुँदा नेपाल–भारत दुवैलाई फाइदा हुन्छ भनेर पहल गरेको हुँ । तर, मलाई एउटा इनाम मिल्यो । मलाई माओवादी बनाए ।’

विराटनगर । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु)का प्राध्यापक तथा भारत–नेपाल सम्बन्धका जानकार प्राध्यापक एसडी मुनिले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेल्दा आफूलाई माओवादी बनाएको बताएका छन् ।

विराटनगरमा एलिट क्लव र नर्थ साउट कलेक्टिभ्सले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धका नयाँ आयामहरु’ विषयको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । ‘माओवादी नेता बाबुराम मेरा विश्वविद्यालयका विद्यार्थी थिए । तर, उनी मेरा विद्यार्थी थिएनन् । मेरा विद्यार्थी बनाएकोमा मिडियाको मप्रतिको माया हो । तर, नेपालको राजनीतिबारे बाबुरामबाट मैले पनि सिकेको छु,’ उनले माओवादी जनयुद्धको सन्दर्भ र भारतको भूमिकालाई कोट्याउँदै भने, ‘जब आन्दोलन भयो बाबुराम मेरोसाथ आए । जसवन्त सिंह नेपाल आएको बेला माओवादीको आतंकवादी भने । त्यो विषयमा बाबुराम भारतलाई सम्झाउन चाहन्थे । त्यही बेला उनले हामी व्यवस्था बदल्न चाहन्छौं । हामी आतंकवादी होइनौं भनेर बाबुरामले भनेपछि मैले भारतलाई त्यो कुरा बुझाउन प्रयास गरेँ । मैले जो प्रयास गरे । जे जे भयो त्यो तपाईहरुलाई थाहै छ । त्यो शिलशिलामा मलाई एक इनाम मिल्यो । त्यो भनेको साधारण व्यक्तिबाट माओवादी बनाए । नेपालका मानिसले पनि माओवादी भनेर गाली दिए । हिन्दुस्थानका मानिसहरुले पनि माओवादी बनाए । तर, मैले माओवादी हतियार छोड्न चाहेको बुझेर हिंसा कम हुन्छ र नेपाल–भारत दुवैको रक्षा हुन्छ भनेर कुरा अगाडि बढाएको थिएँ । दर्शनको हिसावले म माओवादी होइन । म लिवरल डेमोक्रेटिक हुँ ।’

उनले माओवादी विद्रोहमा मारिएका १७ हजारमा दुई तिहाई फौजले र एक तिहाई मात्र माओवादी सेनाबाट हताहत भएको दाबी गरे । ‘१७ हजार मानिस मारिएको कुरामा गलत कुरा आइरहेको छ । त्यसमध्ये दुई तिहाई त सरकारी फौजबाट मारिएका हुन्,’ उनले भने ।

उनले नेपाल–भारतको सम्बन्ध हिन्दि सिरियलमा भएको सासु–बुहारीको झगडा जस्तो भएको पनि बताए । ‘खानामा नुन बढी भयो भने पनि झगडा, कम भए पनि झगडा, रातो सारी लगाउँदा पनि झगडा, निलो लगाउँदा पनि झगडा यस्तो अवस्था छ नेपाल र भारतको सम्बन्ध । तर, सासु र बुहारी एक अर्को नभइ नहुने अवस्था छ,’ उनले भने । रोटी, बेटि, हिन्दू धर्म र पुरानो संस्कारबाट अहिलेको सम्बन्ध नचल्ने उनले बताए । ‘अब नेपाल र भारत धेरै फरक भइसक्यो । मेरो उमेरको नेपाल र भारत अहिले त्यस्तो छैन । भारत शक्तिशाली भइरहेको छ । पछिल्लो १० वर्षदेखि भारत शक्तिशाली भएको महसुस गरिरहेको छ । भारतमा एउटा आत्मविश्वास आएको छ । नेपालमा पनि गणतन्त्र आएको छ । राजतन्त्र हटेको छ । जनताको हातमा तागत छ । पहिले यो तागत थिएन । नयाँ नेपाल बनेको छ । नेपालको पनि एउटा महत्वकांक्षा छ,’ उनले भने, ‘नेपालको यो कुरा न त भारतको नीति निर्धारकले बुझेका छन् न त नेपालका नीति निर्धारकले भारतको अहिलेको अवस्थालाई बुझेको छ । यसलाई नबुझेसम्म सम्बन्धमा समस्या आइरहन्छ । हामीले नेपाल र भारत दुवै देशलाई बुझ्न जरुरी छ ।’ उनले अहिलेको भारत र नेपाललाई ठीक ढंगले बुझ्न नसकेसम्म सासु बुहारीको जस्तो झगडा भइनै रहने पनि बताए ।

उनले नेपालको पर्यटन, जलविद्युत्, शिक्षालगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको पनि बताए । तर, यसको विकास नेपाल आफैंले गर्नुपर्ने उनको जोड थियो । ‘नेपालको पर्यटनको धेरै सम्भावना छ । किन काम नगरेको ? हाइड्रोमा यत्रो सम्भावना छ वर्षौदेखि पानी बगिरहेको किन काम नगरेको ? शिक्षालयहरु किन नबनाएको ? यो आफैंले गर्नुपर्छ,’ उनले भने, ‘भारतले गरेको सहयोग बढाउन आवश्यक छ । तर, सबैभन्दा ठूलो सवाल भनेको नेपाल आफैंले विकास गर्नुपर्छ । भारतको विकासमा मद्दत गर्न, चीनको विकासमा मद्दत गर्न कोही आएको होइन । आफैंले गरेका हुन् । कुनैपनि देशको विकास आफैंले गर्नुपर्छ ।’

उनले चीनले लगानी गरेका विद्युत् खरिद नगर्ने भारतको कुरा ठिक नभएको पनि बताए । तर, सरकारले आफ्नो कुरा मान्नै पर्छ भन्ने नभएको पनि उनले बताए । ‘यो भारतले चीनले बनाएको विद्युत् पनि किन्नुपर्छ । तर, चीन पहिलेको भन्दा फरक भयो । भारतको सीमानामा सेना ल्याएर राखेको छ । भारत सामरिक हिसावले चिन अगाडि बढेको हेर्न चाहँदैन । त्यही कारण चीनले बनाएको एयरपोर्ट संचालनमा समस्या आउँछ । चीनले यो प्रायद्धीपमा जसरी व्यवहार गरिरहेको छ । त्यसलाई सबैले बुझ्नु पर्छ,’ मुनीले थप भने, ‘चीन पहिले राजा महेन्द्रले बोलाएपछि मात्र नेपालमा आएको हो । अब तपाईंले नबोलाए पनि ऊ आउँछ र आइरहेको छ । दक्षिण एसियाको हाम्रो समुदाय संसारकै ठूलो समुदाय हो । यहाँको अर्थतन्त्र ५ देखि ६ प्रतिशतले बढिरहेको छ । दुनियाँमा यसरी कतै बढेको छैन । यस क्षेत्रको जनसंख्या पनि एक अर्ब ६० करोडको छ । त्यसैले कुनै पनि मुलुक यो जनसंख्या र आर्थिक वृद्धिको फाइदा उठाउन खोज्छ । कुनै देशले यो क्षेत्र र समुदायलाई नेग्लेट गर्न सक्तैन । त्यसैले चीन अब तपाईंले नबोलाए पनि आउँछ ।’

उनले नेपाल वा भारत धर्म सापेक्ष मुलुक (हिन्दू राष्ट्र) हुनै नसक्ने पनि ठोकुवा गरे । ‘देश कुनै एउटा धर्म, एउटा जाति र एउटा भाषाको हुनसक्तैन’, उनले भने, ‘यसो गर्न खोजियो भने त्यहाँ अशान्ति र विखण्डन सुुरु हुन्छ । पाकिस्तानबाट बंगलादेश टुक्रिने कारण यही थियो । श्रीलङ्का र म्यानमारमा यही कारण अशान्ति भएको हो । राज्यको संज्ञा कुनै एक धर्म, एक जाति र एक भाषाका आधारमा हुनुहुँदैन । यो मेरो विचार हो । सरकारले मान्नुपर्छ भन्ने छैन ।’ उनले भारत एक लोकतान्त्रिक र धर्मनिरपेक्ष राष्ट्र हुँदाहुँदै लोकतन्त्र र धर्ममा केही ‘डाइल्युट’ हुन थालेको र भारतीय राजनीतिमा हिन्दुवाद बढिरहेको उल्लेख गरे । त्यसको असर छिमेकी मुलुकमा पनि परिरहेको उनले बताए ।

कार्यक्रममा उनले सक्रिय राजतन्त्रको समर्थक आफू नरहेको बताए । ‘म सक्रिय राजतन्त्रलाई कहिल्यै समर्थन गर्न सक्तिन’, उनले भने, ‘एसियाका सबै राजतन्त्रहरू सकिए । भूटानमा संवैधानिक राजतन्त्र छ । नेपालमा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले ज्ञानेन्द्रलाई संवैधानिक मात्र भएर बस्न र राजनीतिक दलसित मिलेर माओवादी विद्रोहको व्यवस्थापन गर्न ३–३ पटकसम्म सुझाव दिनुभयो । ज्ञानेन्द्रले नयाँ दिल्लीमा मनमोहन सिंहजीसित त हुन्छ भन्नुहुन्थ्यो तर काठमाडौँ आएपछि चीनबाट हतियार खरिद गरेर माओवादी सखाप पार्छु भन्ने सोच्नु भयो ।’

प्राध्यापक मुनिले राजतन्त्रले ७० वर्षसम्म नेपाल र नेपालीलाई के दियो भन्ने प्रश्न गर्दै माओवादी आन्दोलन राजतन्त्रले नै दिएको दाबी पनि गरे । ‘जुन राजतन्त्रले ७० वर्षसम्म गर्नसकेन, त्यो ५ वर्षमा कसरी पूरा हुन्छ ? म लोकतन्त्रमा भ्रष्टाचार, कुशासन र ५ वर्षमा ६ वटा सरकार फेरिने कुरालाई समर्थन गर्न सक्तिन तर यसको विकल्प राजतन्त्र हुनसक्तैन,’ उनले भने ।

उनले लिपुलेक र कालापानीको समस्या नयाँ नक्शा बनाएर वा संविधानमा संशोधन गरेर समाधान हुन नसक्ने ठोकुवा गरे । ‘नेपाल सुगौली सन्धिको कुरा गर्छ । तर यसमा भारतले पनि दाबी गर्दै आएको छ । यो एउटा टेबुलमा बसेर छलफल गरेर टुंगिने विषय हो । नयाँ नक्शा बनाएर, संविधानमा संशोधन गरेर वा वार्ता नगरेर समाधान हुँदैन,’ उनले भने । उनले दुई देश आफैंले छलफल गरेर सिमानाको विवाद टुंग्याउने । त्यसो नभए तेस्रो मुलुकको रोहबरमा समाधान गर्ने वा अन्तराष्ट्रिय कानून अनुसार मुद्दामा गएर टुंगो लगाउनु पर्ने उनले बताए ।

बुधबार, ०७ चैत, २०८०, बिहानको ०७:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर