विराटनगर । छात्रालाई कुटपिट गर्दै दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेकी विराटनगर— ८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक वर्ष ५० की मधु रेग्मी ४१ हजा रुपैयाँ धरौटी रकम बुझाएर थुनामुक्त भएकी छन् ।
अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी रेग्मीलाई जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको इजालासले ४१ हजार रुपैयाँ धरौटी तोकेको थियो । प्रशासनले तोकेको धरौटी रकम बुझाएर मंगलबार उनी रिहा भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले जानकारी दिए ।
विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीन जना छात्रामाथि हातपात गर्दै दुव्र्यवहार गरेको आरोपमा रेग्मी गत बुधबार पक्राउ परेकी थिइन् । मोरङ प्रहरीले पक्राउ परेपछि उनलाई अभद्र व्यवहारको मुद्दमा म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो ।
पक्राउ परेलगतै विरामी भएको भन्दै उनी अस्पताल भर्ना भएकी थिइन् । प्रहरीले अनुसन्धान पूरा गरेपछि मोरङ प्रशासनमा अभियोग बुझाएको थियो । रेग्मीले मंगलबार साँझमा तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात गर्दै दुर्व्यवहार गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । घटनालगत्तै पीडित छात्राले उजुरी दिएपछि उनी पक्राउ परेकी थिइन् ।
होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि रेग्मीले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन् । दुर्व्यवहारमा परेका विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कन्चनपुर घर भएका विद्यार्थी हुन् । उनीहरु उक्त होस्टेलमा ३ फागुनदेखि बसिरहेका थिए ।
उनीहरुले ३ चैतसम्मका लागि अग्रिम ८ हजार रुपैयाँ बुझाएका थिए । कलेजकै होस्टेलमा बस्नेहरुको सूचीमा भर्खरै उनीहरुको पनि नाम निस्किएको थियो । उनीहरू बुधबारदेखि कलेजको होस्टेलमा बस्ने तयारी गरेका थिए । ३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालक मधुले ती विद्यार्थीसँग थप ३—३ हजार रुपैयाँ मागेपछि विवाद भएको थियो ।
मधुले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरुले कलेजमा सम्पर्क गरेका थिए । त्यसपछि मंगलबार राति नै कलेज प्रशासनले ती विद्यार्थीहरुलाई आफ्नै होस्टलमा ल्याएर राखेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।