चैत १५ देखि विराट गोल्डकपमा १० टोली सहभागी

विराटनगर । विराटनगरको इतिहाससँग जोडिएको आठौँ संस्करणको विराट गोल्डकप फूटबल प्रतियोगिता आगामी चैतको दोस्रो साताबाट शुरू हुने भएको छ ।

प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म विराटनगरको शहीद रङ्गशालामा शुरू हुने आयोजक विराट गोल्डकप फूटबल ट्रस्टले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

यसपटकको गोल्ड कप ट्रस्ट आफैँले गर्ने भएको हो । यसअघि भने उद्योगी व्यवसायीलाई संयोजक तोकेर प्रतियोगिता गर्ने गरिएको थियो ।

प्रतियोगितामा विदेशी ३ सहित स्वदेशी ‘ए’ डिभिजनकासमेत गरी १० टोली सहभागी हुने विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोर शाहीले जानकारी दिए । गोल्डकपमा भारतको कलकत्ताको साउथर्न समिति फूटबल क्लब, सिक्किमको सिक्किम ड्रागन फूटबल क्लब, भुटानको थिम्पूस्थित आरटीसी क्लब सहभागी हुँदैछन् ।

नेपालका तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफ क्बल सहभागी हुनेछन् । यसैगरी यस वर्षको लिग विजेता चर्च ब्वाइज, डिभिजन टोलीहरू मच्छिन्द्र र एनआरटी क्लबले पनि भाग लिनेछन् । यस वर्षको गोल्डकपमा २०७४ सालको विजेता थ्रीस्टारको भने सहभागी नहुने भएको छ । घरेलु टोली सांग्रिला मोरङले थ्रीस्टारका केही र विदेशी खेलाडी मैदानमा उतार्ने तयारी गरेको छ ।

सांग्रिलालाई विराटनगरका उद्योगी तथा नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले लगानी गरेका छन् ।

यसपटक हुने आठौँ संस्करणको विराट गोल्डकपका विजेता र उप–विजेताले पाउने नगद पुरस्कारको राशि भने आधा घटाइएको छ । गत वर्ष घाटा भएपछि यस पटक पुरस्कार राशि घटाइएको जनाइएको छ । विजेताले ११ लाख रुपैयाँ र उप–विजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको विजेतालाई नगद २० लाख १५ हजार र उप–विजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । यो वर्ष विजेतालाई ९ लाखा १५ हजार र उप विजेतालाई प्रदान गरिएको थियो । यो वर्ष ५ लाख ३५ हजार रुपैयाँ पुरस्कार राशि घटाएको हो । गत वर्ष आयोजकलाई ८७ लाख रुपैयाँ घाटा भएका कारण यस वर्ष पुरस्कार राशि घटाइएको ट्रस्टका अध्यक्ष शाहीले बताए ।

प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार रुपैयाँ र सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल दिइनेछ ।

साँझ ६ बजे बजेदेखि शुरू हुने गोल्डकपको २, ३ र ५ सय रुपैयाँ टिकट रहेको छ । ‘फ्लडलाइटको माध्यमदेखि रात्रिकालीन प्रतियोगिता हुने भएकोले खेल रोमाञ्चित बन्नेछ,’ अध्यक्ष शाहीले भने, ‘प्रतियोगिता सम्पन्न गर्दा १ करोड १८ लाख ४३ हजार २०० रुपैयाँ लाग्ने अनुमान छ ।’

गत वर्षको सातौँ संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटी ९बीसीएफ० ले जित्दा पाहुना टोली भारतको केरलाको लुका सकर क्लब उप–विजेता बनेको थियो ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट शुरू गरिएको गोल्ड कप २०६२–६३ सालको जनआन्दोलनपछि परिवर्तन गरिएको हो । २०६८ सालबाट विराट गोल्डकपको रूपमा आयोजना हुँदै आएको छ ।

मङ्गलबार, ०६ चैत, २०८०, साँझको ०७:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर