संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ जिरो प्वाइन्टमा बसले किचेर एक जनाको मृत्यु भएको छ । चैनपुर–६ जिरो प्वाइन्टमा को १ ख ३०७७ नम्बरको बसले किचेर धनकुटा नगरपालिका–६ पात्लेखोला का ३० वर्षीय मनोज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

आज बिहान साढे ७ बजे चैनपुरको नुनढाकीबाट इटहरीतर्फ जाँदै गरेको बसले किचेर सहचालक खड्का गम्भीर घाइते भएका थिए । बसको ढोकाबाट झर्दा बसको पछाडिको टायरले किचेर सहचालक खड्का गम्भीर घाइते भएको प्रहरी प्रवक्ता लामिछानेले बताए । गम्भीर घाइते सहचालक खड्काको उपचारका लागि धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय कुमार उपाध्यायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।