विराटनगर । भोजपुरको आगलागीमा ज्यान गुमाएका बालबालिकाको परिवारलाई प्रदेश सरकारले राहत प्रादन गरेको छ ।
मुख्यमन्त्री केदार कार्की नेतृत्वमा पुगेको टोलीले आगलागीमा ज्यान गुमाएका दुई परिवारलाई १–१ लाख रुपैयाँको सहयोग प्रदान गरेको हो ।
मुख्यमन्त्री कार्कीले पीडित परिवारप्रति समवेदना प्रकट गरेका थिए । मुख्यमन्त्री कार्कीले आगलागीबाट भएको क्षतिको स्थगत अनुगमन गर्दै जानकारीसमेत लिएका थिए ।
भोजपुरको हतुवागढी ७ पिप्लेमा चैत ३ गते भएको आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी बालिका दिपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की छन् ।
प्रनिष कार्की केदार कार्कीका छोरा हुन् भने केदारका भाई रमेश कार्कीका छोरी दिपशिखा र दियुनिषको मृत्यु भएको हो । बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पीडित परिवारलाई प्रदेश सरकारको कार्यबिधि अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट राहत प्रदान गरेको मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले जानकारी दिएका छन् ।

