काठमाडौं । सत्तारूढ दलहरूले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । बिहान १० बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्यक्रममा पाँचै दलका शीर्ष नेता सहभागी हुनेछन् ।
गठबन्धनका नेता सम्मिलित कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययन गरेपछि आज सार्वजनिक गर्न लागिएको हो ।
शनिबार सत्ता गठबन्धनको कार्यदलले बालुवाटार पुगेर गठबन्धनका शीर्ष नेताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएको थियो ।
सत्तामा सहभागी पाँच दलबाट दुई दुई नेता कार्यदलमा थिए ।
एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल थिए भने माओवादी केन्द्रबाट उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन र उपमहासचिव जनार्दन शर्मा रहेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकाल थिए भने जनता समाजवादीबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन थिए । नेकपा (एकीकृत समाजवादी)बाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल थिए ।