विराटनगर । इस्लामी पात्रो अनुसार हिजरी संवतको नवौं रमजानुल मुबारक महिनाको रौनकता यतिबेला सर्वत्र छाएको छ । मुसलमानहरुको महान् धार्मिक ग्रन्थ कुर्आन अवतरणको शुरुवात भएको यो महिनालाई रमजान (रोजा–उपवास) लिने महिनाको रुपमा मनाइन्छ ।

रमजान पर्वको रौनक यतिबेला मुस्लिम बसोवास क्षेत्रमा छाएको छ । ईन्सान (मानव)लाई हरेक गुनाह (पाप) बाट बचाउन र मनमा अरुप्रति सहयोगी भावना जागृत गराउने भएकाले यस महिनालाई मुस्लिम समुदायमा विशिष्ट महिनाका रुपमा लिने गरिन्छ ।

एक महिनासम्म चल्ने रमजानको आज ८ औं दिन हो । रमजानमा मुस्लिम धर्मालम्वीहरु रोजा बस्ने गर्दछन् । सूर्य उदाउनुभन्दा लगभग दुई घण्टा अगाडि केही खानेकुरा (सेहरी) खार्ई सुरु हुने रोजा सूर्यास्तपछि सकिन्छ ।रोजाको समयमा मुसलमानहरु निराहार बस्नुपर्छ । रोजा लिनेहरुले आफ्ना पाँचै ईन्द्रियहरुलाई नियन्त्रणमा राखी दिनभरि निराहार बस्छन् । रोजाले हरेक व्यक्तिहरुमा हमदर्दी र मोहब्बत बढाउने पाठ सिकाउने गरेको मुस्लिम धर्मगुरुहरु बताउँछन । ामे मस्जिद बुधहाट चोकका खतिव र इमाम अब्दुल मन्नान कादरीले मुस्लिम ब्रतालुहरु रोजाजस्तो कठिन ब्रत गर्ने रमजानको महिनालाई पुण्य कमाउने पवित्र महिनाका रुपमा लिएको बताए ।
रमजान महिनाको रोजा अशक्त, बिरामी र बालबालिका र लामो यात्रामा रहेकाबाहेक सबैलाई अनिवार्य हुन्छ । रोजामा विहानको ४ः२३ बजेदेखि बेलुका ६ः०६ सम्म निराहार बस्ने चलन रहेको छ । त्यसपछि मात्र रोजा सकिन्छ ।

रोजा अवधिमा खानपिन, जेमा (यौन सम्पर्क) गर्न बञ्चित गरिएको हुन्छ । जानीजानी निषेध गरेको काम गर्यो वा खानेकुरा खायो भने जरिवानास्वरुप (कफ्फारह) ६० जनालाई गरिब असाहयलाई भोजन गराउनुपर्ने व्यवस्था रहेको छ ।रमजान महिनालाई तीन भागमा बाँडिएको हुन्छ । पहिलो १० दिनको अवधिलाई रहमत (अल्लाहबाट बक्सिस), दोस्रो १० दिनको अवधिलाई मगफेरत (पापबाट छुट्कारा पाउने) र अन्तिम १० दिनको अवधिलाई जहन्नमबाट आजादी (मृत्युपश्चात स्वर्ग पाउने) भनिन्छ । मुस्लमानहरु यही विश्वासका साथ अल्लाहको आदेश पालना गर्दै रोजा बस्ने गरेको धर्मगुरुहरु बताउँछन् ।

रमजानको रोजाले गरिबको दर्द दिलमा पैदा गरिन्छ । बिहानदेखि बेलुकासम्म निराहार बसेपछि गरिबहरुले सधैं आर्थिक संकटका कारण भोकभोकै बसे कस्तो पीडा हुन्छ भन्ने महसुस हुने गरेको बताइन्छ । यो एक महिना मुस्लिम समुदायको लागि लगन, विश्वास र भरोसा (कसरथ)को महिना भएको र अल्लाहमा समर्पण गर्न, मुस्लिमको मगफिरत (धर्म गर्ने महिना) र जहन्नम (नर्क)बाट बच्ने महिनाको रुपमा मनाउने गरेको विराटनगरमा मुस्लिम अगुवा जफर अहमद जमालीले बताए ।

मुस्लिम समुदायलाई एक महिना गलत काम नगरी हमदर्दी महसुस गरी, दुःखीजस्तै जिउने अभ्यास गराउने रुपमा समेत यस पर्वको महत्व रहेको छ । कतिपयले त इस्लाम दर्शन अनुसार जीवनयापन गर्ने अभ्यासको रुपमा पनि रोजालाई लिने गरेका छन् ।

रोजा बस्ने धर्मावलम्बीले आपनो शरीरलाई चोखो राखी दिनमा नियमित पाँच पटक नमाज पढ्नुका साथै बेलुका नमाज ए इसा पछि दैनिक धर्मगुरुबाट थप (तरावी) नमाज पढ्ने गरिन्छ । तरावी धर्मगुरुहरुले ३० पारा (अध्याय) कुरआन कण्ठ गरी सुनाउने गर्छन् । रमजान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा विशेष व्यवस्था गरेको विश्वास गरिन्छ ।

रोजामा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँको मूल्य बराबर फितरा (कर) निकाल्नुपर्छ । साढे सात तोला सुन र ५२ तोला चाँदीको मूल्यभन्दा बढी आर्थिक हैसियत भएका मुसलमानहरुले आफ्नो आम्दानीबाट अढाई प्रतिशत जकात (कर) दान गर्नुपर्छ । यस्तो फितरा र जकात गरिब, असहाय र दीनदुःखीलाई बाँड्नुपर्छ ।
फितरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुभन्दा अगावै निकालिसक्नु पर्छ । फितरा र जकात तिर्नुको अर्थ गरिव मुसलमानले पनि धनीले जस्तै रमजान मनाउनको लागि आर्थिक सहयोग पुगोस् भन्ने हो ।

अल्लाहका लागि त्याग, समर्पण र बलिदानको भावना जागृत भएर आउने रमजान महिनाले मुसलमानको आस्था र विश्वासलाई अझ दृढ बनाउन मद्दत गर्ने विश्वास गरिन्छ । रोजाको आफ्नै किसिमको वैज्ञानिक मान्यता पनि छ । अमेरिकाका डाक्टर बनुनाइलले मानवको भुँडी(पेट) पाचन (हजम) गर्दागर्दै थाक्छ र पूरा एक महिनाको उपवासले मानवको पेट सफा हुन्छ । फलस्वरुप धेरै नै रोगबाट मानवले बच्न सक्छ, भनेका छन् । रोजाको अवधिमा मानिसहरु शारीरिक रुपमा दुब्लाएपनि मानसिक रुपमा निकै गौरवान्वित महसुस हुने बताउँछन् ।

रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर पुरुष मुसलमानले सामूहिक रुपमा नमाज पढ्दै इदुलफित्र मनाउँछन् । त्यसपछि उनीहरुले एकले अर्कोलाई अँगालो मारेर बधाई एकआपसमा साटासाट गरी घरमा गएर मिठो खानेकुरा खान्छन् । तीन दिनसम्म चल्ने यो क्रममा मुस्लिमहरुले आफ्ना ईष्टमित्र र आफन्तहरुलाई बोलाएर मिठा पक्वान र खानपान खुवाउने गर्छन् ।