विराटनगर । उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन् ।
निजी क्लिनिकमा उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको जाहेरीको आधारमा डा.रामसागर मेहतालाई
नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इटहरी –९ मा क्लिनिक सञ्चालन गर्दै आएका मेहतालाई किटानी जाहेरी परेपछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
मेहताले आइतबार साँझ क्लिनिकमा दुर्व्यवहार गरेको महिलाले आरोप लगाएकि छिन् । ईसीजी गराउने क्रममा मिसबिहेभ भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । डा. मेहता बाल रोग विशेषज्ञ हुन ।
महिलामाथि दुर्व्यवहार गरिएको भए पनि प्रहरीले भने अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । प्रहरीले डा. मेहतालाई म्याद थपका लागि जिल्ला अदालत सुनसरीमा लगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

