काठमाडौं । सर्वोच्च अदालत परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्ड हतियारसहित पक्राउ परेका छन्।

सोमबार दिउँसो सर्वोच्च अदालत पुगेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा बडिगार्डहरू दीपक खड्का र रामकुमार धिमाल छन् । उनीहरू बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्नेक्रमा बन्दुक भेटिएको हो ।

सर्वोच्च अदालतको मूलगेटमा रहेका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोलीले चेक गर्नेक्रममा बन्दुक भेटिएको हो । ‘ठूले स्वीडेन’ लेखिएको कालो रंगको झोलाभित्र स्वचालित हतियार एउटा, सानो दुई वटा म्यागजिन, दुई वटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउण्ड गोली पनि बरामद भएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त भएको हतियारसमेत फेला परेको प्रहरीले जनाएको छ।