आगलागीबाट कोशीमा क्षति बढ्दै, तीन सातामा दुई सय घर जले

 शनिबार र आइतबार मात्र ४५ आगलागीका घटना, फागुनयता २६७ वटा आगलागी, मानवीय र भौतिक क्षति बढ्दो

विराटनगर । कोशी प्रदेशमा फागुनयता आगलागीको घटना अचाक्ली बढेको छ । आगलागीका कारण सयौं मानिस घरबारविहीन बनेका छन् भने करोडौंको क्षति भएको छ । तर, सरकारले आगलागी पीडितहरुको लागि उचित राहात र उद्धारमा ध्यान दिन सकेको छैन ।

कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार शनिबार र आइतबार दुई दिनमा मात्रै ४५ वटा आगलागीका घटना भएका छन् । त्यसमध्ये भोजपुरको हतुवागढीमा भएको आगलागीमा ३ जना बालबालिकाको ज्यान गएको छ । फागुन ११ गतेयताको तथ्याङ्क हेर्दा आगलागीमा परी पाँच जनाले ज्यान गुमाएका छन् भने १६ जना घाइते भएका छन् ।

शनिबार मात्रै सोलुखुम्बुमा ११ वटा, तेह्रथुममा ५, ओखलढुंगामा १, पाँचथरमा ३, इलाममा ३, खोटाङमा २, भोजपुरमा ३, उदयपुरमा ३, मोरङमा ३ वटा आगलागीका घटना भएका छन् । आइतबार पनि संखुवासभामा २, खोटाङमा ३, ओखलढुंगामा १, सुनसरीमा ४, तेह्रथुममा ३, मोरङमा १, उदयपुरमा २, धनकुटामा २ र सोलुखुम्बुमा १ वटा आगलागीका घटना भएका छन् । उक्त आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन । प्रहरीले आइतबार बेलुका ५ बजेसम्म भएको आगलागीका घटनाको विवरण उपलब्ध गराए अनुसार फागुन ११ यतामात्र आगलागीका २६७ वटा घटना भएका छन् । जसमा परी २०० वटा घर जलेका छन् । आगलागीबाट १५ करोडभन्दा बढीको धनमाल क्षति भएको छ । उद्योगमा भएको आगलागीदेखि परालका कुन्यूसम्मका घटनाबाट भएको क्षतिको विवरण प्रहरीले पनि उपलब्ध गराउन सकेको छैन ।

शनिबार भोजपुरको टक्सारमा भएको आगलागीमा ७ वटा घर जलेका थिए । यस्तै मोरङको रंगेलीस्थित एक सन्थाल बस्तीमा भएको आगलागीमा २१ घर जलेको थियो । आइतबार तेह्रथुमको फेदापमा भएको आगलागीबाट १९ घर जलेका छन् । शनिबार साँझसम्मको विवरण अनुसार फागुनयता इलाममा इलाममा १०, उदयपुरमा १२, ओखलढुंगामा ११, खोटाङमा १५, झापामा २६, ताप्लेजुङमा ११, तेह्रथुममा २६ वटा, धनकुटामा १९ वटा आगलागीको घटना भएका छन् । यस्तै पाँचथरमा ११ वटा, भोजपुरमा ११ वटा, मोरङमा ४८ वटा, संखुवासभामा ६ वटा, सुनसरीमा ३० वटा र सोलुखुम्बुमा १५ वटा आगलागीका घटना भएका छन् । आगलागीबाट भोजपुरमा ३, झापा र पाँचथरमा १–१ जनाको मृत्यु भएको छ । घाइतेको संख्या १६ पुगेको छ ।

सोही तथ्याङ्क अनुसार आगलागीबाट इलामा ६, उदयपुरमा ११, ओखलढुंगामा ३, खोटाङमा १२, झापामा ८, ताप्लेजुङमा ९, तेह्रथुममा १६, धनकुटामा १५ जनाको घर जलेको छ । यस्तै पाँचथरमा ८, भोजपुरमा १४, मोरङमा ४०, संखुवासभामा ३, सुनसरीमा १४ र सोलुखुम्बुमा १ वटा घर जलेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको प्रारम्भिक विवरण अनुसार सबैभन्दा बढि मोरङमा ३ करोड ७२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै इलाममा १ करोड २२ लाख, झापामा १ करोड ८६ लाख, ताप्लेजुङमा १ करोड ४ लाख, तेह्रथुममा २ करोड, धनकुटामा १ करोड, सुनसरीमा ६२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रिमनसुनको समय सुरु हुनै लाग्दा आगलागीका घटना र क्षतिको ग्राफ बढ्दै गएको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) चन्द्र कुबेर खापुङले बताए । ‘आगागीको घटना बढ्दै जाँदा चिन्ता थपिएको छ । उद्धार र आगलागी नियन्त्रणमा प्रहरी परिचालित भएको छ । तर, आगलागीका घटना रोकिएको छैन,’ उनले भने, ‘आगलागीका घटना नियन्त्रणका लागि साधन स्रोतको कमी, भौगोलिक विकटताले पनि समस्या पारिरहेको छ ।’ हिउँदयाम सकिएर प्रिमनसुन सुरु हुन लाग्दा पनि वर्षा नहुनु, गर्मी बढ्नु र हावा चल्दा आगलागी बढिरहेको उनले बताए । यो मौसम हावाहुरी, आगलागी, डढेलो, चट्याङ र असिनापानीले सताउने समय हो ।
सरकारले पनि पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पु¥याइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सचेतता अपनाउन आव्हान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो धेरैजसो मानवीय कारणले फैलिने गरेको बताएको छ । मानवीय लापरबाहीका कारण नेपालमा ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना हुने गरेको प्राधिकरणले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटकको हिउँदमा सरदरभन्दा कम पानी परेकाले सुक्खा भएको र सुक्खामा डढेलोको जोखिम ज्यादा हुने खतरा रहेको जनाएको छ ।

सोमबार, ०५ चैत, २०८०, बिहानको ०८:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर