इलाम क्षेत्र नम्बर २ उपनिर्वाचन : मिलन लिम्बुले गरे स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौँ । उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ मा हुने निर्वाचनमा मिलन लिम्बुले उम्मेदवारी घोषणा गरेका छन् ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम–२ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन् । म इलामको माटोको कसम खाएर भन्छु, अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्नेछु । राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध लडिरहनेछु । यो उपनिर्वाचनमा मात्रै नभएर म इलामका नागरिकको सेवक बनेर जीवनभर सुख(दुःखमा सँगै उभिने वाचा गर्दछु ।’

विकास र समृद्धिको आशामा राजनीतिक दलका उम्मेदवारलाई बारम्बार जिताएर पठाए पनि उनीहरूले सधैँ जनताको मतको दुरुपयोग मात्रै होइन, मूल्य–मान्यताहरूलाई समेत कुल्चिएको उनको आरोप छ । इलामेली नागरिकलाई जल, जंगल र जमिनको मालिक बनाउने यो अभियानमा साथ र सहयोगका लागि उनले अपिल गरेका छन् ।

माओवादी केन्द्र निकट प्रेस सेन्टरका केन्द्रीय सचिव समेत रहेका लिम्बु जनजाति पत्रकार महासङ्घका महासचिवका हुन् । माओवादी केन्द्रसँगको आबद्धता त्यागेर लिम्बुले इलाम—२ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

आइतबार, ०४ चैत, २०८०, साँझको ०६:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर