काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) लाई ३० करोड रुपैयाँ उपलब्ध गराएको छ। किसानको बक्यौता भुक्तानीका लागि उक्त रकम उपल्बध गराएको हो ।
मन्त्रालयले पशुपन्छी बिमाको अनुदानका लागि बिमा कम्पनीलाई ४८ करोड रुपैयाँ पनि उपलब्ध गराएको छ।
डीडीसीलाई ३० करोड सहुलियत ऋण तथा बिमा प्राधिकरणमार्फत ४८ करोड रुपैयाँ अनुदानबापतको रकम सम्बन्धित बिमा कम्पनीलाई उपलब्ध गराएको कृषि मन्त्रालयले जनाएको छ ।
दूध तथा दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण किसानलाई समयमा भुक्तानी दिन नसकेको भन्दै डीडीसीले कृषि मन्त्रालयसँग सहुलियत ऋण माग गरेको थियो। कृषिमन्त्री ज्वालाकुमारी साहले शुक्रबार नै अर्थमन्त्री वर्षमान पुनसँग छलफल गरेकी थिइन्। छलफलपछि अर्थ मन्त्रालयले ३० करोड उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयल जनाएको छ ।
डीडीसीले करिब एक अर्ब रुपैयाँ बक्यौता रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको जनाएको छ। डिडिसीका महाप्रबन्धक सञ्जीव झाले सरकारबाट ऋणमा पाएको ३० करोड रुपैयाँबाट किसानलाई भुक्तानी दिने बताए। मौज्दात रहेका समान बिक्री भएपछि सरकारको ऋण तिर्ने उनले जानकारी दिए।