विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्तीमैत्री यात्रा गरेको समयमा ठूलो परिणाममा काठको चोरी भएको खुलेको छ । फागुन २२ गते ठूलो परिणाममा सुनसरीको ब्रह्मपुर सामुदायिक वनबाट काठाका गोलीया बरामद भएको थियो । फागुन ९ गतेबाट मुख्यमन्त्री कार्कीले हात्तीमैत्री पदयात्रा गरेका थिए । त्यही मौका छोपेर काठको तस्करी भएको डिभिजन वन कार्यालय सुनसरीका निमित्त कार्यालय प्रमुख धर्मान्नद यादवले बताए ।

हासपोसा सामुदायिक वन उपभोक्ता समूहको १२ फिट गोलाइ भएको ढलेको सालको रुख चोरी भएपछि काठको खोजी गर्ने क्रममा छिमेकी सामुदायिक वनमा काठ फेला परेको थियो । डिभिजन वन कार्यालयले ढलेको रुख भनेपनि स्थानीयले भने त्यो सामुदायिक वनमा रहेको सबैभन्दा पुरानो ठाडो रुख भएको दाबी गरेका छन् ।
‘घाँस दाउरामा जानेले जंगलकै पुरानो भनेर चिनिएको रुख नदेखेपछि स्थानीयले उपभोक्ता समितिलाई भनेका रहेछन्’ एक स्थानीयले भने ‘तर वनले पछि ढलेको रुख भनेर मुद्दा पनि कमजोर बनाउन खोज्दै छ । ’

सबै सामुदायिक वन समूहका पदाधिकारीहरू मुख्यमन्त्रीको यात्रामा अलमलिएको बेला तस्करी भएको यादवले बताए । ‘जंगलमा पनि हात्तीको बिगबिगी थियो,’ यादवले भने ‘हासपोसा सामुदायिक वनमा पनि चुनावी प्रक्रिया बढिरहेको थियो । मुख्यमन्त्रीको यात्रा पनि त्यही बेला भयो ।’

काठको खोजी गर्दै जाँदा ब्रह्मपुर सामुदायिक वन क्षेत्रमा उक्त काठ लुकाएर राखिएको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय सुनसरीका निमित्त कार्यालय प्रमुख धर्मानन्द यादवले बताए । काठ चोरी भएको आरोपमा ब्रह्मपुर अध्यक्ष मनोज तामाङ पक्राउ परेका छन् । जाँचबुझ गर्ने क्रममा अध्यक्ष मनोज तामाङको संलग्न भेटिए पनि उनलाई नियन्त्रणमा लिएको यादवले बताए । चोरी तामाङले स्वीकार गरी सकेको यादवले जानकारी दिए । अध्यक्ष तामाङले काठ चोरी गर्नका लागि तीन जना सुराकीसमेत राख्ने गरेको अनुसन्धानमा देखिएको छ । सामुदायिक वनको टोली र वनरक्षक कृष्ण गेलालको टोलीले २१ वटा टुना अवैध काठ जंगलमा फेला पारेका थिए ।

‘राष्ट्रिय तथा सामुदायिक वनको क्षेत्रबाट काठ काटिएको छ । अहिले सामुदायिक वनका अध्यक्षहरू बदमास भएका छन् । पक्राउ परेका तामाङले पनि १० लाख खर्च गरेर चुनाव जितेको रे ! त्यही खर्च असुल्नका लागि अध्यक्षले आफैंले काठ चोरी गरेको रहेछ’ यादवले भने ।

विभिन्न सामाजिक संघ संस्थाहरुमासमेत नेतृत्वमा रहेका तामाङ नेपाली काँग्रेसका स्थानीय नेता हुन् । काठ चोरी भएको विषयमा छानबिन डिभिजन वन कार्यालय सुनसरीले समिति बनाएको छ । सूचना अधिकारीसमेत रहेका डिभिजन वन कार्यालय सुनसरीका वन अधिकृत जीवनकुमार यादवको संयोजकत्वमा ति सदस्य छानबिन समिति बनाएको हो । समितिको सदस्यहरूमा अधिकृत जमानसिं मोक्तान र अधिकृत चुडामणि गौतम रहेका छन् ।

ब्रह्मपुर सामुदायिक वनका उपाध्यक्ष टेकबहादुर बस्नेत, उपभोक्ता समिति सदस्य एवम् वन हेरालु आशिष्ष तामाङ र पेम्बा तामाङविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गरी खोजी भइरहेको डिभिजनका निमित्त प्रमुख यादवले बताए । १५ देखि २० लाख मूल्य बरावरको काठ चोरी भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
अनुसन्धानका लागि डिभिजन वन कार्यालय सुनसरीले सब–डिभिजन वन कार्यालय पाँच कन्या धरानका प्रमुख महेशकुमार साहलाई अनुसन्धान अधिकृत तोकेर काम अघि बढाएको उनले बताए । काठ चोरीमा संलग्न रहेका अन्य तीन जना भने फरार रहेको जनाइएको छ । उनलाई वन ऐन २०७६ अनुसार मुद्दा चलाउने तयारी भइरहेको डिभिजन वन कार्यालय सुनसरीले जनाएको छ ।

यता काठ तस्करीमा वन कर्मचारीको पनि संलग्नता रहेको सामुदायिक बन समूहका पदाधिकारीहरूको आरोप रहेको छ । उनीहरूले वनकै कर्मचारीमाथि पनि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रादेशिक कार्यालय इटहरीमा उजुरी दिएका छन् ।