सुनसरी । समयमा चिनी मिलले उखु खरिद नगर्दा सुनसरीका किसानहरुले उखु बेच्न पाएका छैनन् । समयमा उखु बिक्री गर्न नपाउँदा बोट सुक्न थालेको छ । यस क्षेत्रको किसानहरुसँग उखु खरिद गरी क्रसिङ गर्दै आएको इस्टर्न सुगर मिलले उखु क्रसिङका लागि पूर्जी नदिएका कारण किसानहरुले खेतबाट उखु निकाल्न पनि नपाएको गुनासो गरेका छन् ।
गढी गाउँपालिका ३ का किसान सूर्यनारायण उराँवले माघमा काट्नु पर्ने उखु खेतमै सुक्न थालेको बताए । मिलले क्रसिङ पूर्जी नदिएका कारण उखुको तौल कम भई नोक्सान हुने चिन्ता बढेको उनको भनाइ छ । उराँवले सुनसरी र मोरङका धेरै किसानको उखु खेतमै रहेको र त्यसबाट किसानहरुलाई ठूलो घाटा हुनसक्ने देखिएको बताए । उराँवका अनुसार प्रतिकट्ठा ५ देखि ८ क्विन्टलसम्म उखु उत्पादन हुन्छ । गर्मी सुरु भएपछि सुक्ने र त्यो तौल घट्ने भएकाले किसान चिन्तित बनेको बताए ।
मोरङको विराटनगरका किसान हरिशंकर मण्डललेसमेत समयमा मिलले क्रसिङ्गको पूर्जी नदिएकाले माघको अन्तिममै काट्नुपर्ने उखु अझै खेतमै रहेको र सुक्न थालेको गुनासो गरे । सुनसरीको गढी, बर्जू, हरिनगर, कोशी गाउँपालिका र मोरङको विराटनगर, जहदा, टंकीसिनुवारीसहितका किसानले लगाएको उखु खेतमै सुक्न थालेपछि उखु किसान लगानी डुब्ने डरले चिन्तित बनेका छन् ।
कोशी प्रदेशको एक मात्रै सुगर मिल इस्ट्रन सुगर मिल अमाहिबेलाहाले समयमा क्रसिङ्ग सुरु नगर्दा समस्या आएको हो । त्यसमाथि यो वर्ष उखु खेती गर्ने किसानको संख्या र क्षेत्रफल बढेका कारण मिललाई क्रसिङको समय सन्तुलन मिलाउन गाह्रो परेको हो । उखुको क्षेत्रफल बढेकाले हजारौँ किसान समस्यामा परेको अर्का किसान रामविलास मेहताले बताए । मिलले समयमा नै उखु खरिद गरी क्रसिङ गर्ने प्रतिबद्धता जनाएको भएपनि प्रतिबद्धता विपरीत उखु किसानलाई समयमै चलान नदिएर समस्यामा पारेका किसानको भनाइ छ । यसले किसानको नगदे बालीका रूपमा रहेको उखुको लगानी डुब्ने चिन्ताले उखु किसानलाई सताएको मेहताको भनाइ छ ।
हरिनगर गाउँपालिकाका कृषि प्राविधिक भुवनेश्वर यादवले उखुको क्रसिङ्गको समय मङ्सिर पुसबाट किसानसँग चिनी मिलले किसानको उखु खरिद गर्नुपर्नेमा ढिलो उखु खरिद गर्नेगरी किसानालई चलान दिएकाले केही समस्या देखिएको बता । समयमा चलान नदिँदा किसानको सयौँ हेक्टरमा लगाइएको उखु सुक्ने अवस्थामा पुगेको गुनासो आफूहरू कहाँ आएको यादवले बताए ।
सरकारले चालु आर्थिक वर्षका लागि उखुको मूल्य ६३५ रुपियाँ प्रतिक्विन्टल निर्धारण गरेको छ । किसानले सोही मूल्यमा बिक्री गर्दै आएकोमा मिलले ५६५ र सरकारले ७० रुपियाँ अनुदान उपलब्ध गराउँदै आएको किसानको भनाइ छ । उता चिनी मिलका उखु प्रबन्धक पवन झाले किसानको खेतमा बाँकी रहेको उखु खरिद गरी क्रसिङ गर्ने काम भइरहेको बताएका छन् । उनले. चिनी मिलका कारण कसैको पनि उखु खेतमै रहने वा सुक्ने अवस्था आउन नदिने दाबी गरे ।
चिनी मिलले चालु सिजनमा करिब २० लाख क्विन्टल उखु क्रसिङ गर्ने झाले बताए । मिलले दैनिक ३० हजार क्विन्टलसम्म उखु क्रसिङ गरिरहेको उनले जानकारी दिए

