विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः)ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने भएको छ ।
विराटनगरस्थित होटल स्वागतमा चैत २ गते भव्य कार्यक्रम आयोजना गरी २ लाख रुपैयाँ राशिको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने झी पुचः ले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि अनवरत रुपमा क्रियाशील संस्था नेवा खलः कास्कीलाई उक्त सम्मानबाट सुशोभित गर्न लागेको झी पुचः विराटनगरका अध्यक्ष भविषकुमार श्रेष्ठले बताए । उक्त कार्यक्रममा सांस्कृतिक स्मारिकासमेत विमोचन गरिने जानकारी दिइयो । ४४ वर्ष अगाडि नेपाल सम्वत् ११०१ (वि.सं. २०३८) सालमा स्थापना भएको झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति एवं संस्थालाई कदर स्वरुप प्रत्येक २–२ वर्षमा सुर्दशन–कपिला सिरपा(सम्मान)बाट सुशोभित गर्दै आएको छ । झी पुचःका संरक्षक एवं समाजसेवी सुर्दशन श्रेष्ठद्वारा स्थापित उक्त सिरपाबाट यसअघि २०७६ साल फाल्गुण २ गते संस्कृतिविद सत्यमोहन जोशी सम्मानित भइसकेका छन् । यसअघि २०७८ सालमा भारतको गान्तोकस्थित सिक्किम नेवा गुठीलाई पनि सम्मान गरिसकेको छ ।
पहिलो पटक काठमाडौँ नक्सालमा आयोजित एक भव्य समारोहका बीच नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरेपछि झी पुचः ले उक्त पुरस्कारलाई निरन्तरता दिँदै आएको झीः पुचका अध्यक्ष श्रेष्ठले बताए । ‘सुदर्शन–कपिला सिरपा’ विराटनगर–१० निवासी सुर्दशन श्रेष्ठ र उनको परिवारद्वारा स्थापित पुरस्कार हो ।
२०७६ सालको नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रमबीच श्रेष्ठ र उनको परिवारद्वारा नेपाली भाषा एवं संस्कृतिको जगेर्ना गर्ने व्यक्ति वा संस्थालाई झी पुचः मार्फत् प्रत्येक २–२ वर्षमा कदर स्वरुप ‘सुदर्शन–कपिला सिरपा’ द्वारा सुशोभित र नगद रु. २ लाखको सिरपा थैली प्रदान गर्ने घोषणा गरिएको थियो । त्यसका लागि २० लाखको अक्षय कोष खडा गर्ने उद्घोष भएअनुसार झी पुचः विराटनगरले सुदर्शन कपिला ट्रष्टको विनियमावली बनाई झी पुचः अन्तर्गत सुर्दशन कपिला सिरपा विशेष समिति निर्माण गरि कार्य गर्दै आएको छ ।
दाता सुर्दशनबहादुर श्रेष्ठद्वारा अक्षयकोष स्थापनाका लागि प्रदान गरिएको १५ लाखमा हाल दाताहरुलेसमेत ५ लाख रुपैयाँ सहयोग गरेका छन् । झी पुचःको अक्षयकोष रकम हाल २० लाख पुगेको जनाइएको छ । प्रत्येक १० वर्षपछि सिरपा थैली रकममा ५०–५० हजारका दरले थप गरी एकमुष्ठ वृद्धि गर्ने योजना रहेको झी पुचः ले जनाएको छ ।
झी पुचःले प्रत्येक वर्ष नेपाल सम्वत्को नयाँ वर्ष, बेल विवाह, ब्रतबन्ध, गाईजात्रा जस्ता सांस्कृतिक कार्यक्रमहरु सामुहिक रुपमा आयोजना गर्दै आएको छ । नेपाल भाषा, साहित्य, कला भोज, बाजा, नृत्य, रीतिरिवाज, भेषभूषा तथा संस्कृतिसमेतको संरक्षणको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । झी पुचःले आफ्नै परिसरमा काठमाडौंपछि सबैभन्दा ठूलो आठ फिट उचाइ भएको इष्टदेव भैरवको मूर्ति, नेवा संस्कृतिका महत्वपूर्ण कला सामग्री २ फिटको सिनमु, ज्वलन्हेक र ५ फिटको सुकुण्डा निमार्ण गरेको छ । पूर्वमै पहिलो नेवाः संग्रहालय निमार्ण पनि गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । केही समय अगाडि उक्त संग्राहलयको शिलन्यास भएर निमार्ण कार्य जारी छ ।

