लोड हुँदैछ...

मेनु

नयाँ गठबन्धनपछि सात प्रदेशको अंकगणित

कोशीको नियति दोहोरिने जोखिममा तीन प्रदेश

कोशीको नियति दोहोरिने जोखिममा तीन प्रदेश

विराटनगर ।केही दिन अगाडि अचानक सत्ता गठबन्धनमा आएको फेरबदलले सात प्रदेशको समीकरण पनि परिवर्तन भएको छ । समीकरण परिवर्तन भएसँगै नयाँ सरकार निर्माण गर्ने तथा भएका सरकार जोगाउने कसरतमा दलहरु लागेका छन् । नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी छन् । रास्वपाको प्रतिनिधित्व भने कुनै पनि प्रदेश सभामा छैन ।

त्यसबाहेक चार दलको गठबन्धन हुँदा उसलाई कोशी, मधेश र कर्णाली प्रदेशमा मात्रै बहुमत जुटाउन सक्ने देखिन्छ । त्यसमा पनि कोशी प्रदेशमा संविधानको धारा १६८(५) अनुसारको वर्तमान सरकार हटाएर अर्को सरकार बनाउन ती दललाई सकस देखिन्छ । सहज बहुमत देखिएको मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार छ भने कर्णालीमा माओवादी नेतृत्वको सरकार छ । चार वटा प्रदेशमध्ये बागमतीमा एक सांसद अपुग देखिएको सत्ता गठबन्धनलाई सुदूरपश्चिममा तीन, लुम्बिनीमा दुई र गण्डकी प्रदेशमा एक सांसद अपुग देखिन्छ । कोशी प्रदेशमा वर्तमान सरकार विस्थापित कसरी गर्ने भन्ने विषय नै विवादित बन्ने अवस्था छ भने एक वर्षमा पाँच सरकार बनाउने कोशीको रेकर्ड लुम्बिनी, गण्डकी र बाग्मतीले नतोड्लान् भन्न सक्ने आधार देखिएको छैन ।

कोशी प्रदेशमा एक सांसदको अपुग हुँदा कहिले सभामुखलाई विश्वासको मत दिन लगाउने, कहिले समर्थनको चिठ्ठी सभामुखलाई दिन लगाउने तथा कहिले सभामुखलाई राजीनामा दिन लगाउनेसम्मका खेल भएका थिए । यद्यपि ती सबै खेलहरुबाट बनेको सरकारलाई सर्वोच्च अदालतले खारेज गरिदिएको नजिर छ ।

  • कोशी प्रदेश

कोशी प्रदेशमा अहिले केदार कार्की मुख्यमन्त्री छन् । उनी नेपाली काँग्रेसका नेता हुन् । यद्यपि उनी प्रदेशसभामा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई तत्कालीन एमालेका ४० सांसद र काँग्रेसका ८ सांसदले समर्थन गरेका थिए । संविधानको १६८ को उपधारा २ र ३ को प्रयोग भइसके पनि सरकार नटिकेपछि उपधारा ५ अनुसार यो प्रदेश सभाबाट सरकार बनाउने अन्तिम विकल्पको रुपमा कार्की मुख्यमन्त्री बनेका हुन् । केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएसँगै यस प्रदेशमा एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको स्पष्ट बहुमत रहेको छ । कोशीमा एमालेको ४०, माओवादी केन्द्रको १३, नेकपा (एकीकृत समाजवादी)को चार र जसपाको एक गरी ५८ सांसद रहेका छन् । ९३ जना प्रदेशसभाको बहुमतको लागि ४७ सांसद आवश्यक पर्छ ।

  • मधेस प्रदेशः

प्रदेश सभाको पहिलो कार्यकालमा एकलौटी पाँचै वर्ष सरकार चलाएको जसपाले नै दोस्रो कार्यकालमा पनि सरकार संचालन गरिरहेको छ । केन्द्रमा गठबन्धन तलवितल हुँदा पनि मधेश प्रदेशमा भने सरकार ढल्ने सम्भावना अहिले छैन । किनकि यसअघिको गठबन्धनमा रहेको जसपा अहिलेको गठबन्धन बन्दा पनि सँगै छ । त्यति मात्रै होइन नयाँ गठबन्धनलाई मधेशको प्रदेश सभामा पनि प्रष्ट बहुमत छ । अहिले सत्तापक्षमा रहेको एमालेको मधेश प्रदेश सभामा सभामुखसहित २४ सांसद छन् । गठबन्धन घटक जसपाको १९, माओवादीको ९, एकीकृत समाजवादीको ७ गरी ५९ सांसद सो गठबन्धनमा रहेको छ । १०७ सदस्यीय प्रदेश सभामा बहुमत प्राप्त गर्नका लागि ५४ सांसद आवश्यक पर्छ । यस प्रदेशमा विपक्षीदलहरु काँग्रेस, जनमत, लोसपा र स्वतन्त्र गरी जम्मा ४८ सांसद मात्रै रहेका छन् । मधेश प्रदेशमा हाल मुख्यमन्त्री सरोजकुमार यादव रहेका छन् ।

  • बागमती प्रदेश

यसैबीच केन्द्रीय सत्ताको नेतृत्वमा रहेको नेकपा (माओवादी केन्द्र)कै नेतृत्वमा रहेको बागमती प्रदेश भने जोगाउन नयाँ गठबन्धनलाई हम्मे पर्ने देखिएको छ । सो गठबन्धनमा आबद्ध एमालेसँग २७, माओवादीसँग २१ र एकीकृत समाजवादीसँग सात गरी यो प्रदेशमा गठबन्धनको सांसद संख्या ५५ मात्रै रहेको छ । ११० सदस्यीय प्रदेशसभाको बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । बरु विपक्षी गठबन्धन बन्न पुगेका काँग्रेससँग यो प्रदेशमा ३७, राप्रपाका १३ (सभामुखसहित) र हाम्रो नेपाली पार्टीको दुई सांसद गरी ५५ सांसद नै रहेका छन् । सरकार गठनका लागि दुवै पक्षलाई असहज बनेको बागमतीको सत्ता राजनीति कसरी अगाडि बढ्छ त्यो भने हेर्न बाँकी छ । किनकी यसअघि गठबन्धन दलमा नल्याउने सार्वजनिक घोषणा गरेपछि प्रधानमन्त्रीप्रति राप्रपा असन्तुष्ट छ । बागमती प्रदेशमा माओवादीका शालिकराम जम्मरकट्टेल मुख्यमन्त्री छन् । बागमती प्रदेशमा पनि कोशी प्रदेशमा विगत एक वर्षयता देखिएको सत्ताको छिनाझपटी सुरु नहोला भन्ने अवस्था छैन ।

  • गण्डकी प्रदेशः

उता, काँग्रेसको नेतृत्वमा रहेको गण्डकी प्रदेशको सरकारको नेतृत्व सुरेन्द्रराज पाण्डेले गरिरहेका छन् । यो प्रदेशमा माओवादी र एकीकृत समाजवादी अर्को गठबन्धनमा लागेसँगै सरकार अल्पमतमा छ । यद्यपि नयाँ सत्ता गठबन्धनलाई पनि स्पष्ट बहुमत पु¥याउन समस्या देखिएको छ । वर्तमान सरकारको समर्थनमा अहिले काँग्रेसका २७ सांसद मात्रै रहेका छन् । राप्रपाका दुई सांसद विपक्षमै छन् । उता, नयाँ गठबन्धन घटकहरु एमालेको २२, माओवादीको सभामुखसहित ८ र एकीकृत समाजवादीको एक गरी ३१ सांसद रहेको गठबन्धनलाई बहुमतसिद्ध गर्न थप एक जना सांसद आवश्यक पर्छ । किनकि माओवादी केन्द्रबाट सभामुख रहेको कारण भोट हाल्ने सांसदको संख्या ३० मात्रै रहेको छ । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । काँग्रेसलाई सरकार टिकाइरहन पनि उक्त प्रदेशमा सकस देखिएको छ । गण्डकी प्रदेशमा पनि कोशी प्रदेशमा विगत एक वर्षयता देखिएको सत्ताको छिनाझपटी र असंवैधानिक चलखेल नहोला भन्न नसकिने अवस्था देखिएको छ ।

  • कर्णाली प्रदेश

माओवादी केन्द्रका नेता राजकुमार शर्माको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार भने नयाँ गठबन्धन बन्दा पनि सुरक्षित देखिएको छ । ४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ सांसद आवश्यक पर्ने यो प्रदेशमा नयाँ सत्ता गठबन्धन दलहरुको २४ सांसद रहेका छन् । यो प्रदेशमा एमालेको १० (सभामुखसहित), माओवादीको १३ र एकीकृत समाजवादीको एक सांसद रहेको छ । यस्तै विपक्षीदलहरु काँग्रेसको १४, राप्रपा र स्वतन्त्रको एक–एक सांसद रहेका छन् । नयाँ गठबन्धनको बहुमत सांसद रहेको यो प्रदेशमा पनि सरकारको नेतृत्व फेर्न एमालेका नेताहरुले दौडधूप सुरु गरेका छन् । जसको सरकार बनेपनि यो प्रदेशमा भने गठबन्धनकै सरकार बन्ने स्पष्ट छ ।

  • लुम्बिनी प्रदेश

८७ जना सांसद सहभागी लुम्बिनी प्रदेशमा हाल काँग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् । नयाँ गठबन्धन बनेसँगै उनको सरकार ढालेर नयाँ सरकार बनाउने चलखेल सुरु भइसकेको छ । तर, नयाँ गठबन्धनको यो प्रदेशमा पनि बहुमत भने देखिएको छैन । सबैभन्दा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको एमाले यो प्रदेशमा मुख्यमन्त्री बनेर सरकार हाँक्न चाहन्छ । तर, नयाँ गठबन्धनका लागि एमालेका २९, माओवादीको ११ (सभामुखसहित), जसपाका ३ र एकीकृत समाजवादीका एक सांसद गरी ४४ सांसद छन् । सभामुखले निर्णायक मत दिन मात्रै पाउने अवस्था रहेको कारण उक्त गठबन्धनलाई एक मत आवश्यक पर्ने देखिन्छ । उता केन्द्रीय सत्ता गठबन्धन इतरपक्षको काँग्रेसको २७, राप्रपाको ४,

नागरिक उन्मुक्ति पार्टीको ४, जनमतको तीन, लोसपाको तीन, राष्ट्रिय जनमोर्चाको एक र स्वतन्त्र एक सांसद छन् । ८७ जनाको प्रदेशसभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । अल्पमतमा पुगिसकेको वर्तमान सरकारलाई विस्तापित गरेर नयाँ सरकार बनाउनका लागि नयाँ गठबन्धन दल माओवादीले कि सभामुखबाट राजीनामा दिनुपर्ने वा अर्को कुनै राजनीतिक दललाई आफूतिर तान्न सक्नुपर्ने देखिन्छ ।

  • सुदूरपश्चिम प्रदेशः

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको सुदूरपश्चिम सरकारमा भने गठबन्धन फेरबदल भएसँगै उलटफेर सुरु भइसकेको छ । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, एकीकृत समाजवादीको जम्मा सांसद संख्या यो प्रदेशमा २५ मात्रै छ । त्यो पनि सभामुखसहित । उता, काँग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा भित्र्याउँदै सरकार सुरक्षित रहेको सन्देश दिइसकेका छन् ।

उक्त प्रदेशमा काँग्रेसको १९, नागरिक उन्मुक्ति पार्टीको ७, राप्रपाको एक र स्वतन्त्र एक सांसद छन् । काँग्रेसले सरकार टिकाउनका लागि अनेक प्रयास गरिरहेको छ । तर, काँग्रेस नेतृत्वको गठबन्धनमा रहने कि एमाले नेतृत्वको गठबन्धनमा रहने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टीमा भने विवाद देखिएको छ । पार्टीका अध्यक्ष रन्जिता चौधरी नयाँ गठबन्धनप्रति नरम छन् भने उनका पति रेशम चौधरी भने काँग्रेस गठबन्धनसँगै रहने बताइरहेका छन् । चौधरी दम्पत्तिको झगडाको निरुपण नभएसम्म सुदूरपश्चिम सरकारको भविष्य पनि अनिश्चित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।