दूधको भुक्तानी नपाएपछि किसानको चक्काजाम

धनकुटा । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको भुक्तानी नगरेको विरोधमा धनकुठाका दुग्ध उत्पादक किसानले बिहीबार कोशी राजमार्गमा चक्काजाम गरेका छन् ।

भदौदेखिको दूध बिक्रीको भुक्तानी रकम नपाएको भन्दै किसानहरुले कोशी राजमार्गअन्तर्गत हिलेमा बिहीबार गाडी बन्द गराएका हुन् ।

बिहान ११ बजेदेखिको बन्दका कारण कोशी राजमार्ग तथा मध्यपहाडी राजमार्ग भएर ओहोरदोहोर गर्ने सवारी साधन २ घण्टासम्म रोकिएका थिए । दुग्ध उत्पादक जिल्ला सहकारी संघको आह्वानमा बन्द आयोजना गरिएको हो ।

संघका अध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक नारदबहादुर कटुवालले आफ्ना माग पूरा नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने बताएका छन् । यसअघि गत सोमबार बिहान १० देखि १२ बजेसम्म दुई घण्टा जिल्ला प्रशासन कार्यालय धनकुटामा किसानहरुले धर्ना दिएका थिए ।

यसअघि आन्दोलनरत कृषकले भुक्तानी माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । धनकुटाका दुग्ध कृषकलाई डीडीसीले गत भदौदेखि नै भुक्तानी गरेको छैन । जिल्लाका १ हजार १ सय कृषकबाट संकलन गरेको दूधको १३ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

कृषकलाई हिलेस्थित डीडीसीको संकलन केन्द्रमार्फत १० करोड र धनकुटा र तेह्रथुमको सीमाक्षेत्र चित्रेस्थित संकलन केन्द्रबाट ३ करोड भुक्तानी गर्न बाँकी रहेको दुग्ध उत्पादक जिल्ला सहकारी संस्थाका सचिव रोम बाजिम्पाकले जानकारी दिए । दुग्धजन्य परिकार बिक्री नभएका कारण किसानको भुक्तानी गर्न नसकेको संस्थानले बताउँदै आएको छ ।

उत्पादित दूधको परिकार बिक्री नभएकोले भुक्तानी दिन कठिन भएको संस्थानको विराटनगर वितरण आयोजनाका प्रमुख प्रमेश्वर चौधरीले बताए ।

बिहिबार, १७ फागुन, २०८०, साँझको ०७:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर