विराटनगरमा राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय

विराटनगर ।  विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको  सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय  गरेको छ ।

विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । व्यवसायीले रात्रीकालीन व्यवसाय सञ्चालनका लागि पटक–पटक महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए ।

व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले समन्वय गरेर प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक राखेको हो । बैठकले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउनेछ । मेयर कोइरालाका अनुसार व्यवसायीले सोही कार्यविधिभित्र रहेर रात्रीकालीन व्यवसाय सञ्चालन गर्नुपर्नेछ । व्यवसायीको पीडा बुझेर महानगरले सरोकारवालाको बैठक राखी रात्रीकालीन व्यवसाय सञ्चालनको निर्णय गरिएको मेयर कोइरालाको भनाइ छ ।

उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले स्थानीय व्यापार व्यवसाय प्रवद्र्धनका लागि कुनै कसर बाँकी नराख्ने बताए । प्रजिअ भट्टराईले कानुनले बर्जित गरेका भन्दा अन्य व्यवसाय सञ्चालनमा समस्या नहुने उल्लेख गरे  । सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा दिने उनले  प्रतिबद्धता जनाएका छन् ।

उपमेयर शिल्पा निराला कार्कीले महानगरले अघि सारेको योजनाले सार्थकता पाएको बताइन । कोरोना महामारीपछि होटल व्यवसाय धराशायी भएको भन्दै व्यवसायीहरूले राति पनि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएका थिए । हाल साढे ९ नबज्दै प्रहरीले नै सटर बन्द गराउने गरेको व्यवसायीहरूको गुनासो छ ।

राज्यले व्यवसायमैत्री वातावरण नबनाए पासपोर्ट बोकेर विदेश जानुको विकल्प नभएको दुखेसो पोखेका थिए । बैठकमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पर्यटन समितिका संयोजक भविसकुमार श्रेष्ठ, होटल एसोसिएसनका राजन श्रेष्ठ,  विराट होटल व्यवसायी संघका सचिव खिलकुमार सुवेदी, रात्रीकालीन होटल व्यवसायी संघका सचिव नारायण तिम्सिना, होटल तथा पेय पदार्थ व्यवसायी संघका अध्यक्ष सुरज श्रेष्ठ, पर्यटन व्यवसायी पुण्य भट्टराई, उपभोक्ता जागरण अभियानका राष्ट्रिय कृष्णप्रसाद भण्डारी मार्सेली, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेललगायतले भारतीय नम्बर प्लेटका सवारी साधन, भारतीय रुपैयाँ बोकेर आउने पर्यटकलाई दुःख दिने क्रम रोक्नुपर्ने, भारतीय पक्षसँग समन्वय गरेर राति १२ बजेसम्म भन्सार नाका खोल्नुपर्ने, मापसे चेकजाँचलाई व्यवस्थित बनाउनुपर्नेलगायतका माग रराखेका थिए ।

बुधबार, १६ फागुन, २०८०, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर