बंगलादेशले डलरमा नेपालको विद्युत् खरिद गर्ने

विराटनगर । नेपालमा उत्पादन भएको विद्युत बंगलादेशमा निर्यात हुने निश्चित भएको छ । बिजुलीको खरिद–बिक्रीदर तय गर्न नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेश प्रस्थान गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बुधबार बंगलादेश गएको हो । टोलीले बिहीबार बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफल गरेर विद्युत् खरिद–बिक्रीदर टुंगो लगाउनेछ । टोलीमा प्राधिकरणका उच्च अधिकारीसहित कानुन तथा विद्युत् व्यापार बिभागका प्रतिनिधिहरू छन् ।

छलफलले पीपीए दरसँगै भुक्तानी गर्ने समयसीमा, विद्युत् उपलब्ध गराउन नसके हुने पेनाल्टीलगायत बिषयमा पनि सहमति गर्नेछ । ह्विलीङ चार्ज भने बंगलादेशले नै तिर्ने प्रारम्भिक सहमति भएको छ ।बंगलादेशले गत माघ दोस्रो साता ४० मेगावट विद्युत् किन्ने नेपालसँग प्रस्ताव मागेको थियो ।

बंगलादेशमा विद्युत् बिक्री गर्न भारतलाईसमेत समावेश गराएर छुट्टै त्रिपक्षीय सम्झौता हुँदैछ । जुन सम्झौता विद्युत् व्यापारसम्बन्धी सर्त तथा प्रावधानमा केन्द्रित हुनेछ । बिहीबार तय हुने मूल्यदरलाई बंगलादेश सरकारले स्वीकृत गरेपछि प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् खरिद–बिक्री सम्झौता हुनेछ ।

कार्यकारी निर्देशक घिसिङले त्रिपक्षीय सम्झौता छिट्टै हुने बताएका छन् । त्रिपक्षीय सम्झौतापत्रको मस्यौदामा नेपाल, भारत र बंगलादेशले सहमति जनाइसकेका छन् । प्राधिकरण, बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय सम्झौता हुनेछ ।

नेपाल र बंगलादेशबीच सीमा नजोडिएको कारण दुई देशबीच डेडिकेटेड अन्तरदेशीय प्रसारण लाइन छैन । त्यसैले, तत्काललाई भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पु¥याउने योजना छ । त्यसबापत भारतले ह्विलिङ चार्जबापत केही रकम पाउनेछ ।

बंगलादेशसँग तय हुने विद्युत् खरिद–बिक्रीदर डलरमा तय गरिने प्राधिकरणले जनाएको छ । प्रतियुनिट ७ सेन्ट (बुधबारको विनिमयदर अनुसार ९.३१ रुपैयाँं) मा पिपिए दर निर्धारण हुनसक्ने प्राधिकरणको भनाइ छ ।

अहिले प्राधिकरणले भारतमा मध्यकालीन मोडेलमा प्रतियुनिट ५.२५ भारु (८.४० रुपैयाँ)मा विद्युत् बिक्री गरेको छ । त्योभन्दा उच्चदरमा बंगलादेशसँग पिपिए हुन लागेको हो । जिएमआरले ९ सय मेगावाटको अपर कर्णाली जलविद्युत् आयोजनाको ५ सय मेगावाट विद्युत् बंगलादेशमा बिक्री गर्नेछ । त्यसमा भने बंगलादेशले प्रतियुनिट ७.७१२ सेन्टमा विद्युत् किन्ने गरी जिएमआरलाई आशयपत्र पठाएकोमा प्राधिकरणले त्योभन्दा कम मूल्यमा पिपिए गर्ने सम्भावना रहेको छ ।

आउँदो बर्खाबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने योजना प्राधिकरणले बनाएको छ । बंगलादेशमा २३.२८ मेगावाटको त्रिशूली र १९.४० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् बिक्री गरिँदै छ । आयोजनाको बिजुली आफ्नो प्रसारण लाइन हुँदै बंगलादेश लैजान भारतले यसअघि नै स्वीकृति दिइसकेको छ ।

गत फागुनमा सम्पन्न नेपाल–भारत ऊर्जा बैठकमा भारतले आफ्नो प्रसारण प्रणालीबाट नेपालको ५० मेगावाटसम्म विद्युत् बंगलादेश लैजान दिने सहमति गरेको थियो । त्यसपछि नेपालले बंगलादेशमा विद्युत् बिक्री गर्न थप प्रक्रिया अघि बढाएको थियो ।

आउँदो बर्खादेखि बंगलादेशमा विद्युत् निर्यात हुने प्राधिकरणको विश्वास छ । सन् २०३५ सम्म बंगलादेशमा ५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य छ । बंगलादेशले जलविद्युत आयोजना नभएकोले कोइला तथा डिजेल प्लान्टबाट उत्पादिन विद्युत् प्रयोग गर्दै आएको छ ।

बिहिबार, १० फागुन, २०८०, बिहानको ११:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर