काठमाडौं । सहकारी ठगी मुद्दामा नेकपा एमालेका पूर्वसांसद इच्छाराज तामाङलाई विषेश जिल्ला अदालतले ३ वर्ष जेल सजायको फैसला गरेको छ ।

विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै तामाङलाई कैदसहित १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना पनि तोकेको छ ।

अदालतले तामाङकी श्रीमती श्रीजना शाक्य तामाङलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो र बिगो बराबरको जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय तोकेको छ । सोहि मुद्दामा केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजार एक सय २४ रुपैयाँ ३७ पैसा बिगो, बिगो बराबर जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय भएको छ ।

सिभिल सहकारीका सञ्चालक रहेका तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले सो सजाय तोकेको हो । उनीहरुसहित मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला बिशेष अदालतको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले फैसला सुनाएको हो । अदालतले गत माघ ७ गते इच्छारज र पत्नी सृजनासहितलाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको थियो।

तामाङविरुद्ध ३ अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ गते मुद्दा चलाइएको थियो । सिभिल सहकारी प्रकरणमा उनीहरु तिनैजना कारागारमै छन् ।

सहकारीको बचत रकम इच्छाराजले निजी कम्पनीमा लगानी गरेका थिए । त्यहीकारण सहकारीमा जम्मा भएको साढे ५ अर्बभन्दा धेरै बचत पनि डुबेको थियो ।

यसअघि ठगीको आरोपमा पक्राउ परेका पूर्वसांसद तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले २०७८ पुस १४ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्ला अदालतमा पनि सो मुद्दा चलिरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिभिल सहकारीका निक्षेपकर्ताको रकम ठगी गरेको आरोपमा पूर्वसांसद तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । तामाङका श्रीमती र दुई छोरीलाई पनि प्रतिवादी बनाइएको थियो ।

मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दाबी गरिएको थियो । उनीहरुविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरिएको थियो ।