काठमाडौं । निर्वाचन आयोगले आउँदो वैशाखमा उपनिर्वाचन गर्नेगरी तयारी थालेको छ ।
प्रतिनिधिसभामा रिक्त एक स्थानन सहित २५ पदमा उपनिर्वाचनको तयारी रहेको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् ।
आउँदो वैशाखमा उपनिर्वाचन गर्ने तयारी रहेको थपलियाले बताएका छन् । अर्को साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उपनिर्वाचनको मिति प्रस्ताव गर्ने आयोगको तयारी छ ।
आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गर्नुअघि राजनीतिक दलसँग छलफलको तयारी गरेको छ । आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।
प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य एक, जिसस प्रमुख दुई, नगर उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष एक, गाउँपालिकाका उपाध्यक्ष दुई र वडाध्यक्षका १७ पद रिक्त छन् । नेपाली कांग्रेसबाट निर्वाचित १५, नेकपा (एमाले)का पाँच, नेकपा (माओवादी केन्द्र)का चार र स्वतन्त्रबाट जितेका एकजनाको स्थान रिक्त रहेको आयोगले जनाएको छ ।

