विराटनगर । मोरङ जिल्ला स्तरीय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र बेलबारी क्रिकेट क्लब विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा मिल्स क्रिकेट क्लबले इलाइट क्रिकेट क्लबलाई २५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २३ ओभरको खेलमा २२ दशमलव ४ बलमा सबै विकेट गुमाई १ सय ५ रन बनाएको थियो । जसमा म्यान अफ द म्याच विशाल ढकालले ३० रन बनाउँदा विशाल ऋषिदेवले १७ रन बनाए । ई लाइटका सोनी सिंहले ३ विकेट लिँदा अमर यादव र सलन कामतले समान २–२ विकेट लिए ।
१ सय ६ रनको विजयी लक्ष पछ्याएको ई लाइटले २१ ओभरमा सबै विकेट गुमाई ८० रन बनायो । जसमा सागर मल्लिकले २६ रन बनाउँदा रुद्र साहले १३ रनको योगदान दिए । मिल्सका आयुस श्रेष्ठले ३ विकेट लिँदा कृष्ण मण्डल र रतिकी चौधरीले २–२ विकेट विकेट लिए ।
दोस्रो खेलमा बेलबारी क्रिकेट क्लबले पथरी शनिश्चरे क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पथरीले निर्धारित २५ ओभरको खेलमा १९ दशमलव ४ बलमा सबै विकेट गुमाई ९३ रनमा सीमित भयो । जसमा आवेश कार्कीले १७ रन बनाउँदा सागर कटुवालले १६ रन बनाए । बेलबारीका विदुर महताराले सर्वाधिक ३ विकेट लिए ।
९४ रनको विजयी लक्ष्य पछ्याएको बेलबारीले १८ दशमलव ४ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जसमा म्यान अफ द म्याच दीपेश सुवेदी ४२ रन बनाउँदा सचिन कलुवालले २२ रनको योगदान दिए । पथरीका केवल राई र नेल्सन डैगोलले २–२ विकेट लिए ।