काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पहिचानसहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताको साथ नपाएको दुखेसो गरेका छन् । जनताको साथ नपाउनु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।
आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विसं २०७० सालको चुनावमा आफूहरु पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान मूल नारा लिएर निर्वाचनमा गएको भए पनि आदिवासी जनजातिकै साथ नपाएको बताए।
उनले ०७० को निर्वाचन सकिएलगत्तै आदिवासी जनजातिकै स्थापित नेताले आफूसँग आदिवासी जनजातिले नै पहिचानविरोधीलाई मत दिएको बताएको उल्लेख गरे।
उनले यो दोष आदिवासी जनजातिको नभइ पहिचान र संघीयताको पक्षमा, समावेशी र समानुपातिकताको पक्षमा काम गर्ने पार्टी र नेतृत्वको कमीको परिणाम भएको बताए।
उनले पहिचानवादी पार्टी एकताबद्ध नरहनु, जनतालाई विश्वास दिलाउन नसक्नु आफूहरुको कमजोरी रहेको बताए।
‘खासगरी २०७० को चुनावको सन्दर्भमा हामीले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान मूल नारा लिएर निर्वाचनमा गयौँ तर त्यसको पक्षमा जनमत देखिएन‚ विरुद्धमा देखियो। यो बडो दुर्भाग्यपूर्ण कुरा हो‚’ उनले भने, ‘निर्वाचन सकिएलगत्तै एकजना आदिवासी जनजातिकै स्थापित नेताले मसँग तपाईंहरु पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान भनेर नारा लगाउनु भयो तर जनजातिले भोट जति सबै पहिचानविरोधीलाई हाले भन्नुभयो।’

