काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीले जग्गा फिर्ता गर्न तयार रहेको बताएका छन् ।
व्यवसायीलाई तर्साउन विनाकारण चौधरीलाई पक्राउ गरेको आरोप उद्योगी व्यवसायीले लगाइरहेको बेला चौधरीले जग्गा फिर्ता गर्न तयार रहेको बयान प्रहरीसमक्ष दिएका हुन् ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरूले लिएको बयानमा चौधरीले नियमविपरित आफूले लिएको देखिए फिर्ता गर्न तयार रहेको बताएका हुन् । कानूनले मिल्ने भए उक्त जग्गा फिर्ता गर्नसमेत आफू तयार रहेको उनधले स्पष्ट पारेका छन् । ’कानूनले मिल्ने भए आफ्नो नाममा आइसकेको उक्त सरकारी जग्गा फिर्ता गर्न तयार छु,’ उनले बयानमा भनेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रियाअन्तर्गत चौधरीको बयान लिन थालिएको जानकारी दिए । सीआईबीले शुक्रवार १० घण्टा चौधरीसँग सवाल–जवाफ गरेको थियो ।
सरकारी वकिल कार्यालय उच्च स्रोतका अनुसार पक्राउ परेका अरुणले बयानका क्रममा दाजु विनोद चौधरीको भूमिकाका बारेमा खुलाएका छन् । तत्कालीन सञ्चालक समिति अध्यक्षका नाताले दाजु विनोद चौधरीकै भूमिका र योजनामा उक्त जग्गा शेयर दिएर किनिएको बयान उनले दिएको स्रोतले जनाएको छ ।
सीआईबीले तीन महिनाको अनुसन्धानपछि बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा चौधरीलगायत तीन जनालाई यही माघ १८ गते पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा प्रकरणमा कांग्रेसका सासंदसमेत रहेका विनोद चौधरी पनि जोडिएका छन् । सीआईबीले भाइ अरुणलाई पक्राउ गरे पनि दाजु विनोदलाई भने पक्राउ गरेको छैन ।
सो प्रकरणमा काठमाडौं महानगरपालिका–२६ का तत्कालीन च्याम्पियन फुटवयेर लिमिटेड (पछि प्रालि बनाइएको)का सेयरधनी तथा सञ्चालक ६० वर्षीय अरुणकुमार चौधरीसहित काठमाडौं महानगरपालिका–९ का तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी अध्यक्ष ८० वर्षीय अजितनारायण सिंह थापा, महोत्तरी घर भएका च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर पक्राउ परेका छन् । लामो समयको अनुसन्धानपछि दोषी देखिएकोले उनीहरुलाई पक्राउ गरिएको सिआईबीले जनाएको छ ।