काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरी ग्रुपका सदस्यहरुले च्याम्पियन फूटवेयरका नाममा सरकारको जग्गा हिनामिना भएको प्रमाण फेला परेको बताएको छ ।
काठमाडौंमा रहेको बाँसबारीस्थित छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा अरुण चौधरीलगायत ३ जनालाई पक्राउ गरेको भोलिपल्ट शुक्रबार सीआईबीले पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिएको हो ।
फूटवेयरका नाममा सरकारी जग्गा जालसाजी गरेको पाइएको जनाएको सिआईबीले जनाएको छ । सिआईबले अनुसन्धानको क्रममा च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको पाइएको जनाएको छ । सीआईबीका अनुसार २०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुणले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनी बनाइएको फेला परेको छ ।
सीआईबीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणमा अन्य व्यक्ति पनि तानिनसक्ने जनाएको छ । सिआईबीका प्रवक्ता एवम् एसएसपी नवराज अधिकारीले उद्योगको जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गर्न तीन महिना लागेको बताए ।
‘अहिले जग्गा दिने र लिने व्यक्ति दुवै अनुसन्धानमा छन्, थप व्यक्तिहरू पनि पक्राउ पर्न सक्छन्’, उनले भने, ‘तत्काललाई यसमा कुनै राजनीतिक तहमा निर्णय भएको देखिँदैन र नीतिगत रुपमा निर्णय भएको पनि देखिएन ।’ उद्योगका तत्कालीन अध्यक्ष थापाले आफ्नै तजबिजीमा बाँसबारीको जग्गा सीजीको हातमा दिएको पाइएको सिआईबीले जनाएको छ ।
बाँसबारी छाला उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिकरूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत शेयर सर्वसाधारणको रहने भनिएको थियो । छाला उद्योगले आफ्नो नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई दिएको थियो ।
प्रतिरोपनी २ लाख ५० हजारको दरले बाँसबारी छाला उद्योगले कुल २६ लाख रुपैयाँ च्याम्पियनमा लगानी गरेको देखिएको भएपनि च्याम्पियनको चुक्ता पुँजी ५० लाखमात्र देखिएको सीआईबीको दाबी छ । २५ प्रतिशत शेयरको मूल्य साढे १२ लाख रूपैयाँमात्र पर्ने भएपनि बाँसबारीले २६ लाख रूपैयाँ मुल्य बराबरको १० रोपनी जग्गा दिएको सीआईबीको भनाइ छ ।
‘चुक्ता पुँजीलाई ५० लाखबाट एक करोड पुर्याइएपछि बाँकी अरु पक्षबाट ७४ लाख रूपैयाँ लगानी हुनुपर्नेमा जम्मा ८ लाखमात्र लगानी भएको पाइयो’ सिआईबीका एसएसपी दिनेश आचार्यले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘त्यसमा पनि कम्पनीले ३ वर्षसम्म उत्पादन गरेको देखिन्छ ।’
लामो समयसम्म अनुसन्धान गरेर सिआईबीले चौधरी ग्रुपका अरुण चौधरीसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । सीआईबीले फूटवेयरलाई जग्गाको हक हस्तान्तरण गर्ने बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । च्याम्पियनको नाम अहिले सीजी चाँदाबाग रेसिडेन्सी बनाइएको छ ।
बाँसबारी छालाजुत्ता कारखानाको कम्पाउण्डभित्र च्याम्पियन फुटवेयर स्थापना गरेर चौधरी समूहले सरकारलाई हानी गर्ने नियतले २६ लाख लगानी गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।क्यानभास जुत्ता उत्पादन गर्नेगरी खोलिएको फुटवेयर बन्द गरेर चौधरी समूहले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापासँग मिलेर साविक नगर २२ (छ) को कित्ता नम्बर ५० को १० रोपनी जग्गा हक हस्तान्तरण गरेको अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।
बाँसबारी छालाजुत्ता कारखानाको सञ्चालक समितिलको निर्णय र प्रतिवेदनका आधारमा मालपोत कार्यालय डिल्लीबजारबाट हक हस्तान्तरण गरेको पाइएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए । सरकारको निर्णयसपना कारखानाको नाममा भएको जग्गा बेचविखन गर्ने अधिकार सञ्चालक समितिलाई नभएपनि किर्ते र जालसाज भएको पाइएको सिआईबीले जनाएको छ ।
नभएको अधिकार प्रयोग गरेर आरोपीहरुले आर्थिक लाभ लिएको भन्दै प्रहरीले मुलुकी ऐन–२०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता ०७४ को दफा २४९ र २७६ बमोजिमको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।