विराटनगर । आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले एकल महिलाहरुको अधिकारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
विराटनगरमा बिहीबार भएको कार्यक्रममा मन्त्री राईले एकल महिलाहरुको सवालमा समाजको दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको भन्दै उनीहरुको आर्थिक उपार्जनका लागि सीप विकास कार्यक्रम सञ्चालन गर्ने तर्फ सरकारले ध्यान दिएको बताए । उनले प्रदेश सरकारले एकल महिलाहरुको समस्या सुन्न मात्र नभएर समाधानका लागि प्रभावकारी योजना बनाएर कार्यान्वयनमा लैजाने बताए ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य साबित्रा शर्माले आयोगले एकल महिला हकहितको सवालमा कसैसित पनि सम्झौता नगरी काम गर्ने बताइन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई, राष्ट्रिय महिला आयोगकी सदस्य सावित्रा शर्मा , जिल्ला समन्वय समितीकि उप–प्रमुख उषा झा लगायत सरोकारबालाहरुको उपस्थिति थियो ।