काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा बिहीबार पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएका चौधरी ग्रुपका सदस्य एवं सीजी होल्डिङस् कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सोही प्रकरणमा पक्राउ परेका छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि चार दिन नै हिरासतमा राख्न अनुमति दिएको छ । सोही प्रकरणमा पक्राउ परेका आम्रपाली कन्ट्रक्सनका मालिक समेत रहेका कारखानाका तत्कालीन अध्यक्ष सञ्जय ठाकुरलाई भने प्रहरीले अदालतमा उपस्थित गराइसकेको छैन ।
प्रहरीले चौधरी ग्रुप अन्तर्गतको सिजी होल्डिङका प्रबन्ध निर्देशक समेत रहेका अरुण चौधरीलाई बिहीबार लाजिम्पाटबाट पक्राउ गरेको हो । यस्तै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालाई बत्तीसपुतलीबाट पक्राउ गरेको जनाएको छ ।
थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए । यो प्रकरणमा अनुसन्धान गर्न तीन महिना अगाडि सीआईबीले एसपी होविन्द्र बोगटीको नेतृत्वमा एक कमिटी गठन गरेको थियो । सोही कमिटीले अनुसन्धान गर्दा उनीहरू दोषी पाइएपछि पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध किर्ते, ठगी र सरकारी सम्पत्ति हिनामिनामा मुद्दा चलाउनका लागि अदालतबाट म्याद लिइएको छ । काठमाडौँ महानगरपालिका ३ का वडाध्यक्षसहित ४८ जना स्थानीयको उजुरीको आधारमा सीआईबीले सो प्रकरणको अनुसन्धान सुरु गरेको थियो ।
बाँसबारी छालाजुत्ता कारखाना लिजमा लिएर वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि १० रोपनी जग्गालाई आफ्नो निजी बनाएको आरोप छ । उक्त जग्गामा हाल चौधरी समूहले चाँदबाग स्कूल सञ्चालन गर्दै आएको छ ।
जग्गा अहिले अरुण चौधरी र उनकी श्रीमती शिलाको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा रहेको देखिन्छ । पक्राउ परेका चौधरी कांग्रेस सांसद विनोद चौधरीका भाइ हुन् ।
चीन सरकारले खोलिदिएको बाँसबारी छाला जुत्ता कारखाना सरकारी लापरवाही र भ्रष्टाचारका कारण बन्द भएको थियो । कारखानाका नाममा रहेको ८३ रोपनी जग्गामध्ये ६ रोपनी जग्गा ०४३ सालमा च्याम्पियन फुटवेयर लिमिटेड कम्पनीका नाममा बिक्री भएको थियो । त्यही सिलसिलामा मालपोत कार्यालयले मिलाएर कम्पनीलाई १० रोपनी जग्गा कौडीको भाउमा उपलब्ध गराएको थियो । त्यो फुटवेयर कम्पनीका सञ्चालक चौधरी ग्रुपका पारिवारिक सदस्य विनोद कुमार चौधरी, लुनकरणदास चौधरी, बसन्त चौधरी, महेशकुमार अग्रवाल, गंगादेवी चौधरी र अरुणकुमार चौधरी लगायत थिए ।

