विराटनगर । विराटनगर महानगरपालिकाले चालु वर्षको पहिलो ६ महिनामा १ अर्ब ८ करोड रुपैयाँ आय गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब २८ करोड आम्दानी गर्ने लक्ष्य लिएको महानगरले अर्धवार्षिक समीक्षा अवधिमा झण्डै ३३ प्रतिशत आम्दानी गरेको हो ।
महानगरमा आर्थिक वर्षको अन्तिम समयमा कर तिर्ने प्रवृत्ति भएका कारणले अर्धवार्षिक समीक्षा अवधिमा भएको आम्दानी सन्तोषजनक रहेको बताइएको छ । महानगरले यस अवधिमा १ अर्ब ८ करोड ६८ लाख रुपैयाँ आय गरेको उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत आयव्यय विवरणमा उल्लेख छ ।
महानगरले यस अवधिमा १ अर्ब ३ करोड १६ लाख ९३ हजार ८०० रुपैयाँ खर्च गरिसकेको छ । महानगर यस अवधिमा ५ करोड रुपैयाँ संचित बचतको अवस्थामा छ ।महानगरले यस अवधिमा पुँजीगत तर्फ ३८ करोड ६७ लाख, खर्च गरेको छ भने चालु तर्फ ६२ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ । महानगरको आयतको झण्डै ६० प्रतिशत रकम चालु तथा प्रशासनिक खर्च भएको छ भने पुँजीगततर्फ करिव ३९ प्रतिशत रकम खर्च भएको छ ।
महानगरले चालु आर्थिक वर्षको ६ महिनामा २१ करोड ७ लाख ९६ हजार ९०० रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको विवरण पनि उपप्रमुख कार्कीले प्रस्तुत गरिन् ।महानगरले चालु आर्थिक वर्ष ८९ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
पुस मसान्तसम्म लक्ष्यको २३ दशमलव ५५ प्रतिशतमात्रै आन्तरिक राजस्व संकलन भएको उपमेयर कार्कीले जानकारी दिइन् । त्यसैगरी राजस्व बाँडफाँडबाट प्राप्त राजस्वतर्फ ७० करोड २५ लाख ३ हजार रुपैयाँ अनुमान गरिएकोमा १३ करोड ४२ लाख २२ हजार ९ सय रुपैयाँ अर्थात् १९ दशमलव ११ प्रतिशतमात्रै प्राप्त भएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब १९ करोड २४ लाख रुपैयाँ अनुमान गरिएकोमा ६७ करोड ८८ लाख ६४ हजार ५ सय रुपैयाँ अनुदान प्राप्त भएको कार्कीले प्रतिवेदनमा उल्लेख गरेकी छन् ।
प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ४ करोड ६६ लाख ६३ हजार रुपैयाँ अनुमान गरिएकोमा पुस मसान्तसम्म १ करोड २९ लाख ७६ हजार ७ सय रुपैयाँ प्राप्त भएको छ भने जनसहभागितातर्फ ८ करोड ७९ लाख ३४ हजार रुपैयाँ अनुमान गरिएकोमा पुस मसान्तसम्म ९४ लाख ४७ हजार रुपैयाँ मात्रै जनसहभागिता जुटेको उपमेयर कार्कीले जानकारी दिइन् ।
यसैबीच विराटनगर महानगरपालिकाले वार्षिक बजेट संशोधन गरी बढाएको छ । असारमा सम्पन्न नगरसभाबाट ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट पारित गरेको रहेको महानगरले अर्धवार्षिक समीक्षाका लागि आयोजना गरिएको १३औं नगरसभाबाट ६ करोड रुपैयाँ वृद्धि गरी बजेट संशोधन गरेको हो । नयाँ निर्णय अनुसार महानगरको बजेट ३ अर्ब ३४ करोड ६७ लाख १२ हजार पुगेको छ ।अधिवेशनमामा विभिन्न समितिका संयोजकहरुले प्रगति प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए ।
यसैबीच नगरसभालाई सम्बोधन गर्दै महानगरका प्रमुख नागेश कोइरालाले महागनरको बेरुजू शून्य बनाउने गरी काम गर्ने बताएका छन् । उनले सीमित स्रोत साधनबाट अधिकतम जनआकांक्षा पूरा गर्नुपर्ने भन्दै बेरुजू शून्य बनाउने र विकासको कामलाई गति दिने बताए । ‘अघिल्लो आर्थिक वर्ष ७३ प्रतिशत बेरुजु फछ्र्यौट गरेका छौं अब यसलाई आगामी दिनमा शून्यमा झार्ने प्रयत्न हुनेछ ।’उनले सबै नगरसभा सदस्यहरूको साथ र सहयोगबाट विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी राख्ने पनि बताए ।
मेयर कोइरालाले टोल विकास संस्था परिचालन गरी विराटनगरको सौन्दर्यकरणसहित विकास अभियानमा टोल विकास संस्थाहरूलाई सहभागी गराउने योजना सुनाए । मेयर कोइरालाले महानगरवासीले गर्व गर्न लायक विराटनगर बनाउन इमान्दारितापूर्वक काम गरिरहेको दाबी पनि गरे ।

