विराटनगर । नेकपा एमालेका नेता रहेका प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।
नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ पुगेका नेम्बाङ बुधबार अचानक बिरामी परेपछि हेलिकप्टर मगाएर काठमाडौं लगिएको हो ।
नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ लगिएको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि उनलाई नजिकैको तमोर अस्पतालमा लगिएको थियो । तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो ।
जिल्ला अस्पतालले उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएपछि काठमाडौं लगिएको हो । पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्ज हुन् । उनी बिहान फिदिमबाट ताप्लेजुङ पुगेको बताइएको छ ।
जिल्ला अधिवेशनलगायत विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक डाकिएको थियो । बैठकमा सहभागी हुन जाने क्रममा भुईमा खसेको मोबाइल टिप्ने क्रममा उनी ढलेका थिए ।

