समाजसवी गोयलद्वारा मानव सेवा आश्रमलाई ५ लाख ११ हजार सहयोग

विराटनगर । विराटनगरमा निर्माणाधीन मानव सेवा आश्रमको भवनका लागि समाजसेवी उद्योगी दिनबन्धु गोयलले ५ लाख ११ हजार १११ रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । आश्रमको एउटा कोठा निर्माण गर्न लाग्ने खर्च आफूले उपलब्ध गराउने पूर्वप्रतिबद्धता अनुसार रकम हस्तान्तरण गरेको समाजसेवी गोयलले बताए ।

आश्रममा मंगलबार आयोजित एक कार्यक्रमकाबीच गोयलले ५ लाख ११ हजार १११ रुपैयाँको चेक र आश्रमका लागि एक महिना पुग्ने खाद्यान्न हस्तान्तरण गरेका थिए । उनले आश्रममा रहेका असाहाय ज्येष्ठ नागरिकहरुलाई ३१ बोरा चामल प्रदान गरेका हुन् । उनले आफ्नो उपस्थितिमा मंगलबार एक छाकको भोजन पनि गराएका थिए ।

यसअघि पनि गोयलले आश्रममा बस्ने सहयोगापेक्षीहरुलाई लत्ताकपडा, खाद्यान्न आदि निरन्तर सहयोग गर्दै आएका थिए । सहयोग रकम र सामग्री हस्तान्तरण गर्दै समाजसेवी गोयलले भवन निर्माणका लागि तत्काल एउटा कोठाका लागि रकम उपलब्ध गराएको र आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्दैजाने बताए ।

विराटनगर महानगरपालिका ५ मा २३ करोडको लागतमा आश्रमको सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ ।समाजसेवी गोयलले बाचुनजेल सामाजिक कार्यलाई निरन्तरा दिएर अगाडी बढने बताए । ‘पहिले आउँदा निकै बिचलित भएको थिएँ । भवन निर्माण गर्दा एउटा कोठा दिने प्रतिबद्धता गरेको थिए । त्यो अहिले आएर पुरा गरेको छु,’ उनले भने, ‘जन्मेपछि सबैथोक छोडेर जानुपर्ने रहेछ । त्यसैले पनि अहिले कमाईको ९० प्रतिशन देशभरी सेवामा खर्चिरहेको छु ।’ दुई दिनमा १५ लाख जति सहयोग बाँडिसकेको उनले सुनाए । ‘यसरीनै बाँचुन्जेल बाँड्न पुगोस्,’ उनले भने ।

कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले मानवसेवा आश्रमको व्यवस्थापनको लागि महानगरले पनि हेर्ने बताइन् । ‘महानगरको दायित्व भएपनि सबैको साथ सयहोगले आश्रम चलेको छ । सकेको साथ सहयोग गरेर अगाडि बढनुपर्छ,’ उनले भनिन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले राज्यले गरिनुपर्ने काम समुदाय स्थरबाट साथ सहयोगले असायहरुको लागि मानवसेवा आश्रम चलेको बताए । राज्यले नसक्दा दाताहरूबाट सेवामा सबै जुट्नु पर्ने उनले बताए । कार्यक्रममा बोल्दै भवन निमार्ण समितिका संयोजक लिला ढुंगेलले समाजसेवी गोयल सेवाको नमूना व्यक्ति रहेको बताए । उदारता र मनकारी भावले अहिलेसम्म साथ सहयोग गरेको बताए ।

बुधबार, १७ माघ, २०८०, बिहानको ०९:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर