विराटनगर । नेपालमा प्रतिबन्धित अनलाइन जुवा र क्रिप्टो करेन्सीमा करिब डेढ अरबको कारोबार गर्ने एक व्यक्ति इलामबाट पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार अनलाइन जुवा खेल्नेहरूका लागि अवैध रुपमा रकम ट्रान्सफर गरिदिने गिरोहका नाइकेलाई इलामबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका १० डुम्री निवासी २६ वर्षीय डम्बरबहादुर साह छन् । साहले मात्रै आफ्नो कम्पनीमार्फत सन् २०२१ देखि हालसम्मको २ वर्षबीचमा अनलाइन जुवा र अन्य अवैध कारोबारका लागि १ अर्ब ४९ करोड रुपैयाँ ट्रान्सफर गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले यो प्रकरणमा कम्तीमा ३४ जना ठगिएको पाइएको जनाएको छ । साहसहितले अनलाइन जुवाका लागि अवैध रुपमा रकम लोड गरिदिनुका साथै ह्वाट्सएप, फेसबुक र ईमो जसता सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरूलाई पार्सल पठाईदिन्छु भन्दै ठग्ने गरेको प्रहरीले जनाएको छ ।
साहले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल, प्रोफिस्ट र उनकै नामको खाताबाट विभिन्न चरणमा अवैध अनलाइन जुवाका लागि रकम पठाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ । साहले अनलाइन जुवा र ठगीका लागि नगदै, क्रिप्टो करेन्सी र ब्याज लिएर बैंक ट्रान्सफरबाट पनि रकम पठाउने गरेको भेटिएको प्रहरीले जनाएको छ ।
साहसँग मिलेका मिथलेश कुमार मण्डलले नगद र क्रिप्टो किनबेच गर्ने गरेको पनि कार्यालयले जनाएको छ । अवैध रुपमा रकम लेनदेनका लागि साहले उद्गम भेन्चर क्यापिटलका चारवटा बैंक खाता खोलेका थिए । ती चारवटा खाताबाट मात्रै उनले ९१ करोड ६२ लाख ३८ हजार ६०९ रुपैयाँ कारोबार गरेको भेटिएको छ ।
साहले आफ्नै नाममा पनि विभिन्न बैंकमा ११ वटा खाता खोलेको भेटिएको छ । उनले ती खाताबाट ५८ करोड ३५ हजार ६३४ रुपैयाँ कारोबार गरेको भेटिएको छ । दुबै कारोबार २०२१ जुनदेखि २०२३ जुनसम्मको हो ।
कम्पनीका चारवटा र आफ्ना ११ वटा खाताबाट साहले यी दुई वर्षको बीचमा १ अर्ब ४९ करोड ६२ लाख ७४ हजार २४९ रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । ताप्लेजुङबाट फर्किदै गरेका उनलाई प्रहरीले पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

