विराटनगर । प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले नेपाल घुम्न आउने भारतीय पर्यटकहरुलाई सदैव सहजीकरण गर्ने बताएका छन् । प्रदेश प्रहरी कार्यालय कोशीमा केही दिनअघि सरुवा भई आएपछि आयोजना गरिएको सञ्चारकर्मीहरुसँगको भेटघाट तथा परिचय कार्यक्रममा डिआइजी खापुङले भारतीय पर्यटकहरुलाई नेपाल प्रहरीले अनावश्क दुःख नदिएको र आगामी दिनमा पनि त्यस प्रकारको व्यवहार नहुने बताए ।

नेपाल घुम्ने उद्देश्यले आउने पर्यटक र उनीहरुले ल्याउने भारतीय नम्बर प्लेटको सवारी साधनलाई आवश्यक चेकजाँच गरी नेपाल प्रवेश अनुमति दिएपछि सुरक्षा सम्बन्धी विशेष सूचना आएको अवस्थामा बाहेक विभिन्न ठाउँमा रोकेर दुःख दिएको भन्ने गुनासो आगामी दिनमा आउन नदिने उनले बताए ।

विगतमा पनि दुःख दिने नियतले भन्दा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि निगरानी र सूचनाका आधारमा चेकजाँच भएको हुनसक्ने भन्दै उनले बचाउ गरे ।नेपाल सरकारले पर्यटन क्षेत्रको विकासका लागि प्रयत्न गरिरहेको तर पर्यटनको प्रमुख स्रोत भारतबाट आउने पर्यटकहरुले भारु ५०० र त्यसभन्दा माथिको नोट बोकेर आउन रोक लगाइँदा पर्यटन क्षेत्रमा नकारात्मक असर पुगेको भन्ने पर्यटन व्यवसायीहरुको गुनासोप्रति उनले प्रहरीले व्यवहारिक पक्षमा ध्यान दिने बताए । सरकारले नेपालमा भारु ५०० र त्यसभन्दा माथिको नोट प्रचलनमा रोक लगाएको हुँदा राष्ट्रिय अर्थतन्त्रमा नै असर पुग्ने गरी प्रहरीले अन्य ढंगले काम गर्न नसक्ने भन्दै उनले प्रहरीले व्यवहारिक पक्षलाई ख्याल गरेर व्यवहार गर्ने प्रष्ट पारे । उनले भने ‘प्रहरी ऐन नियम र सरकारले निर्णय गरेर दिएको जिम्मेवारीभित्र रहेर हामी काम गर्छौं र त्यसो गर्दा प्रहरी अव्यवहारिक भएर चाहिँ चल्दैन,’ डिआइजी खापुङले भने ।

प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी लिएर आएपनि आफ्नो व्यक्तिगत कार्ययोजना आफूसँग नरहेको भन्दै उनले प्रहरी ऐन, नियमावली आदिले दिएको जिम्मेवारी हुबहु कार्यान्वयन गर्ने र अघिल्ला प्रमुखहरुले गरेका कामलाई निरन्तरता दिएर प्रदेशको शान्ति सुरक्षा र सुव्यवस्था स्थापना गर्न आफू प्रतिबद्ध रहेको उनले बताए । उनले विकास र शान्ति सुरक्षालाई जोडेर लैजान आवश्यक रहेको भन्दै सुरक्षाका कारणले विकास प्रभावित हुन नदिने बताए । उनले भने ‘सुरक्षाले विकासलाई प्रभावित गर्न हुन्न, पुलिसले विकासमा आइपर्ने बाधा फुकाउनु पर्छ र मेरो मातहतमा रहेको प्रहरी कर्मचारीहरुले त्यसै अनुसार परिचालित हुनेछन् ।’

प्रहरीको कामकारवाहीप्रति जनस्तरबाट विभिन्न आलोचना र टिप्पणी हुने गरेको भन्दै उनले जनस्तरबाट आउने गालीलाई प्रहरीप्रति जनताको थप अपेक्षाको रुपमा आफूले बुझ्ने पनि बताए । उनले यदाकदा समाजमा जस्तै प्रहरी संगठनभित्र पनि देखापर्ने मानवीय कमजोरीहरुलाई सुधार्दै लगिने उनले बताए ।

प्रदेश प्रहरी प्रमुख खापुङले सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी तस्करी, लागुऔषध ओसारपसार, चोरी, हत्या आदि अपराध नियन्त्रणमा समुदायसँग समन्वय गर्ने, भारतीय समकक्षीसँग छलफल गर्ने आदि काममा आफ्नो सक्रियता रहने पनि बताए ।