विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
आयोगले बुधबार विशेष अदालतमा उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित उद्योगका उच्च पदस्त कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार भेराइवल फ्रिक्वेन्सी ड्राइभ (भिएफडी) खरिद गर्दा खरिद ऐन विपरित खरिद गरी भुक्तानी गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । सो प्रकरणमा पौडेलसहित, तत्कालीन नायव महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन का.मु. उपनिर्देशक पवनकुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय प्रा. ध्रुव बहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरुद्ध मुद्दा दायर भएको छ ।
आयोगका अनुसार भिएफडी खरिद गर्दा बिनाअध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत यकिन नगरी लागत अनुमानसमेत नबनाई खरिद गरेको पाइएको छ । यस्तै केही उपयोग नहुने सामाग्री खरिद गरेको, सामान खरिद पश्चात् गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको र खरिद गरिएको आयोगको अनुसन्धानले देखाएको छ ।
सञ्चालनमै नरहेको १६०– किलोवाट भिएफडी प्यानेल (पार्ट–१) को २२ लाख ७८ हजार ३ सय ५ रुपैयाँ ६० पैसा बराबरको भुक्तानी दिन लगाएर उद्योगलाई गैरकानूनी हानी पुर्याएको भन्दै पौडेललगायत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले बताए । आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (ड) को उपदफा (१) र दफा ८ उपदफा (१) को देहाय (क) र (च) बमोजिमको कसुरमा बिगो बराबरको जरिवाना कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगोसमेत असुल उपर गर्न अदालतसमक्ष माग गरेको छ ।
उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजायसम्बन्धी व्यवस्थांं) अन्तर्गत ऐनको दफा २४ बमोजिम थप सजायसमेत हुन मागदाबी लिएको अख्तियारले जनाएको छ ।

