विराटनगर । विराटनगर–१० शान्तिचोक घर भएका एक जना अस्पताल संचालकको भारतको बथनाहमा रहस्यमय मृत्यु भएको छ । विराटनगरका ३० वर्षे रविनकुमार रायको मृत्यु रहस्यमय देखिएको परिवारले जनाएको छ ।
भारत बिहार अररिया जिल्लाको बथनाहमा विराट दिब्या दृष्टि हस्पिटल संचालन गरेर बसेका रायको शनिबार साँझ रहस्यमय मृत्यु भएको हो ।
रायका परिवारले भने रविनकुमारको हत्या उनका पार्टनर विराटनगर ३ का इब्राहिम र मिटर ब्याजमा ऋण लिएका खेम भनिने खगेन्द्र थापाले गरेको दाबी गरेका छन् । उनीहरुले गुण्डा परिचालन गरेर रायको हत्या गरेको आरोप परिवारले लगाएको हो ।
फर्मासिस्ट र जनस्वास्थ्यमा स्नातक गरेका रायले दुई वर्ष अगाडि बथनाहमा इब्राहिमसँग मिलेर ५० शय्याको हस्पिटल खोलेका थिए । हस्पिटल राम्रो चल्दै गएपछि रायले एकलौटी चलाउने योजना बनाए । त्यसपछि पार्टनर इब्राहिमको लगानी भारु १८ लाख रुपैयाँ फिर्ता दिने सहमति भएको थियो । सहमति अनुसार रायले १२ लाख रुपैयाँ नगद र ८ लाख रुपैयाँको चेक दिएको मृतक रविनको परिवारले बताएका छन् । ‘शनिबार दिउँसो इब्राहिमसहित मिटर ब्याजमा ऋण दिने थापासहित १० जना एउटा स्कारपीयोमा बथनाहस्थित हस्पिटलमा पुगेका थिए । श्रीमान्लाई छलफलमा लैजाने भन्दै हामी बस्ने पाँचौ तलामा लिए गए । हामीलाई चौथो तलामा ढोका थुनिदिए । त्यसपछि हामीले प्रहरीलाई खबर गर्यौं । प्रहरी आएको केहीबेरपछि शनिबार ५ बजे पाँचौं तलाबाट श्रीमान्लाई चौथो तलामा झारिदियो । हामीले हस्पिटल लिएर जाँदा चिकित्सकले मृत घोषणा गरिदियो,’ श्रीमती रानीकुमारी रायले भनिन्, ‘श्रीमानलाई योजनाबद्ध तरिकाले निर्घात कुटपिट गरेर छतबाट खसाएर मारिएको हो ।’ श्रीमान्को हत्या गर्नेलाई कडा कारवाही गर्न रानीले माग गरेकी छन् ।
रायले खगेन्द्र थापासँग सयकडा ५ रुपैयाँको दरले ऋण लिएका थिए । ५ लाख रुपैयाँ ऋण लिएपनि उनले कपाली तमसुक १५ लाखको बनाएका थिए । मिटर ब्याजमा दिएको ऋण उठाउन रायको हत्या गरेको हुनसक्ने मृतकका आफन्तले बताएका छन् । मृतक परिवारले रायको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै भारतीय प्रहरीमा पनि उजुरी दिएको बताएका छन् । पोष्मार्टमपछि रायको शव आइतबार राति विराटनगरमा ल्याएर सोमबार विराटनगरस्थित सिंघिया खोलामा दाहसंस्कार गरिएको छ ।

