विश्वभर फैलँदै रमपम र टुपिएम : २५ देशमा ब्यापार विस्तार

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा २० वर्ष अगाडि स्थापना भएको एसियन थाईफुड्ले विश्वका २५ देशमा आफ्नो उत्पादन बिक्री गर्न थालेको छ । पछिल्लो समयमा उद्योगी व्यवसायीहरुले उत्पादनमा बजार नपाएको र उद्योग संकटमा परेको गुनासो गरिरहेका बेला चर्चित चाउचाउको ब्राण्ड रमपम र टुपिएम उत्पादन गर्दै अएको एसियनले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ ।

रोजगारीको लागि गएका र विदेशमा बस्ने नेपालीहरुमा बजारको संभावना देखेर आफ्नो उत्पादन विदेश पठाउन थालेको एसियनका उत्पादन अहिले ती मुलुककै नागरिकबीच पनि लोकप्रिय बन्दा निर्यात विस्तार हुँदै गएको हो । गत वर्ष ५० करोड बराबरको उत्पादन निर्यात गरेको एसियनले यो बर्ष १ अर्ब बराबरको निर्यात गर्ने उद्योगका सञ्चालक एवं बजार प्रबन्धक महेश जाजुले बताए । उद्योगले खासगरी नेपालमा रहेका भुटानीय शरणार्थीहरु अमेरिक स्थान्तरण भएपछि उनीहरुलाई लक्षित गरेर रमपम र टुपिएमको उत्पादन निर्यात थालेको थियो ।

भुटानीहरु नेपालमा रहँदा उनीहरुको खाजाको मुख्य स्रोत रमपम रहेकोले हजारौं भुटानीहरु अमेरिका पुग्दा बजारको संभावना देखेर निर्यात थालेकोमा अहिले अमेरिकी नागरिबीच पनि उत्पादन लोकप्रिय बनेको जाजु बताउँछन् । ‘भुटानीमार्फत थालिएको निर्यातले अहिले त अमेरिकामा रमपम र टुपिएम ब्राण्डका स्न्याक्सहरुको माग तीब्र बनेको छ’ उनले भने, ‘जहाँ नेपाली छन् । त्यहाँ सामान पठाए । नेपालीहरुकै माध्यमबाट ति देशका नागरिकहरुले पनि स्वाद लिन पाए । जब स्वाद लिए अनि डिमाण्ड बढ्यो ।’

आफ्नो उत्पादनलाई नेपाल चिनेका सबैजसो विदेशीहरुले माया र सद्भाव राख्ने गरेको जाजुको भनाइ छ । ‘ममा यति धेरै कन्फिडेन्स किन आयो मलाई हेर्नुहोस् त । किनकी मेरो उत्पादन राम्रो छ’ उनी भन्छन्, ‘संसारका धेरै मानिसहरुले मन पराइदिरहेका छन् । यो उत्पादनले नेपाल चिनाउँछ ।’

कोरोनापछि एसियन थाइफुड्ले आफ्नो उत्पादन झनै बढाएको छ । पाँच वर्षसम्ममा ५ सय करोडको उत्पादन विदेश निर्यात गर्ने उद्योगको योजना छ । विदेशमा पुग्दा त्यहाँ रहेका नेपालीमार्फत नै उद्योगको बजार विस्तार भइहरेको जाजु बताउँछन् ।

केही समय अगाडि दुबईमा आयोजना भएको गल्फ फुड दुबई (फुड फेस्टिभल) मा विश्वका प्रतिष्ठित ब्राण्डका उत्पादित वस्तुको स्टलसँगै एसियनले टुपिएम र रमपमको स्टल राखेको थियो । जाजुका अनुसार फेस्टिबलमा अएका एक नेपालीले रमपम चाउचाउ र टुपिएम ब्राण्डका उत्पादित वस्तुहरु रहेको देखेपछि दौडिँदै आएर गर्वका साथ भने, ‘यो कसरी सम्भव भयो ? ।’ ती नेपाली युवा भावविह्वल भए । उनले नेपालबाट पनि अन्तराष्ट्रिय मेलामा नेपाली प्रोडक्सन देखेर आँशु बगाएका थिए ।

दक्षिण कोरियामा भर्खरै १ कन्टेनर (२५ लाख मूल्य पर्ने) सामान पठाइसकेको उद्योगले जापानमा पनि सामान पठाउने तयारी गरेको छ । मार्केटको पोजेटिभ रेस्पोन्सले धेरै उत्साहित बनेको उनी बताउँछन् । विदेशीहरुको मुखबाट ‘नेपालमा पनि यति राम्रो प्याकेजिङमा यस्तो स्वादिलो बनाउन सक्छ ?’ भन्ने प्रश्न सुन्दा उत्साह आउने उनको भनाइ छ ।

विदेशमा मार्केटिङ कसरी भइरहेको छ भन्ने प्रश्नमा जाजु भन्छन्, ‘यो आइडिया हो, प्रोडक्सनप्रतिको हाम्रो विश्वास हो ।’ एसिएन थाइ फुड्स प्रा.लि.ले विराटनगरमा सन् १९९९ मा १५ करोड लगानीमा चाउचाउ उत्पादन गर्न थालेको थियो । अहिले लगानी २ सय करोड नाघेको लगानीकर्ता पवन सारडाको भनाइ छ ।

कम्पनीको आक्रामक विज्ञापन र मार्केटिङले चाँडै नै रमपम चाउचाउ नेपालमा सबैभन्दा धेरै बिक्रि हुने चाउचाउ बन्यो । त्यसको लगत्तै टुपिएम र प्रिति चाउचाउको सफल प्रक्षेपण भयो । २०१० को आसपास उत्पादन क्षमता थप गरियो । त्यसपछि थाइफुड्सको उत्पादित चाउचाउ नेपालको कुनाकुनासम्म पुग्न थाल्यो । सन् २०१९ मा अन्तर्राष्ट्रिय स्वादको प्रिमियम चाउचाउ र २०२२ मा टुपिएम प्रिमियम स्न्याक्सको प्रक्षेपणसँगै एसियन थाइफुड्स नेपालमा चाउचाउ र खाजाको सबैभन्दा ठूलो उत्पादक कम्पनी बनेको जाजुको दाबी छ ।

कम्पनीले बजार विस्तार गर्न भर्खरै गल्फ फुड दुबई, आहार इन्डिया, वल्र्ड फुट टर्की र वल्र्ड फुट इन्डिया जस्ता ग्लोबल प्रदर्शनीमा समेत सहभागिता जनाएको छ । अहिले पनि २५ मुलुकहरुमा आफ्ना उत्पादन निर्यात गरिरहेको दाबी गर्ने कम्पनीको अमेरिकामा वार्षिक १५ करोडको उत्पादन बिक्री भइरहेको छ । नेपालमा करिब ४ सय करोडको उत्पादन बिक्री गर्ने उद्योगले भारतमा ५० करोडभन्दा बढीको निर्यात गर्न थालेको छ ।

विदेशमा हुने फुड फेस्टिभलमा सहभागी हुँदा करिब ५० लाख रुपैयाँ खर्च भएको उद्योगले जनाएको छ । ‘हामी आफ्नै खर्चमा काम गर्छौं । सामान लिएर जानुपर्छ । स्टाफ लिएर जानुपर्छ । टर्की र गल्फ मुलुकहरु एकदमै महँगो छ’ जाजुले भने, ‘सरकारले व्यापार प्रबद्र्धनमा सहयोग गरिदिए नेपालको ब्यापार घाटा कम पनि पनि मद्दत हुन्छ ।’

अहिले अष्ट्रेलिया, बहराइन, बेल्जियम, भुटान, क्यानडा, फिनल्याण्ड, जर्मनी, भारत, इजरायल, इटली, दुबई, कुवेत, मलेशिया, यमन, ओमन, प्यालेस्टाइन, दक्षिण कोरिया, बेलायत, अमेरिका, न्यूजल्याण्ड र कतारमा व्यापार विस्तार गरेको जाजुले बताए । केही दिनमा जापान, इजिप्ट र दक्षिण अफ्रिकामा पनि निर्यातको तयारीमा रहेको उनको भनाइ छ । बजार प्रबद्र्धनको लागि जाजु आफैं ती मुलुकमा पुगेर उपभोक्तासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने गरेका छन् ।

थाइफुड्सका उत्पादनहरु अमेजन, फ्लिप्कार्ट, इस्पेन्सर, मेसोलगायतका प्रतिष्ठित अनलाइन कम्पनीहरुले बिक्री गरिरहेका छन् । केही दिनमा दराज, ब्लिङ्केट जस्ता प्रतिष्ठित कम्पनीहरुले बिक्री थाल्ने जाजुले बताए । एसियनले चाउचाउ, विस्कुट र स्न्याक्स, जुससिहत सय भन्दाबढी ब्राण्ड उत्पादन गर्ने गरेको छ ।

‘गुणस्तरीय उत्पादन रहेकोले नेपालको प्रोडक्ड विश्वभरीमा छ । नेपालको माल अमेरिकामा जानु भनेको गर्व गर्ने विषय हो,’ जाजुले भने । निर्यातको लागि सरकारले अरू विषयमा ध्यान दिनसके विश्वमा व्यापार बढाउन सकिने उनको अनुभव छ । आफ्नो उत्पादनका हरेक सामानहरुमा अधिकांश नेपालकै खाद्य वस्तुहरु कच्चा पदार्थको रुपमा उपयोग गरिरहेको उनको दाबी छ ।

कोभिडपछि नेपालमा मात्रै होइन संसारका जुनसुकै मुलुकका धेरैजसो उद्योगहरु धरासायी भएपनि खाद्य उद्योगमा कोभिडले खासै असर गरेन । एसियन थाइफुड्सलाई पनि कोभिड अवसर भएर आयो । ‘कोभिडपछि उत्पादन बढेको छ । म निराश छैन,’ आत्मविश्वासका साथ जाजु भन्छन्, ‘स्न्याक्स उत्पादन सय प्रतिशत बढ्यो । नुडलल्सका आइटमहरु पनि फरक–फरक कन्सेप्टमा उत्पादन भइरहेको छ ।’

आफ्नो उत्पादन विस्तार गर्न जाजुले भारतका अर्बपति मुकेश अम्बानीसँग सहकार्यको पहलमा छन् । भारतमा ८ सयभन्दा बढी डिपार्टमेन्टल स्टोरहरु रहेको अम्बानी ग्रुपका स्टोरहरुमा रमपम र टुपिएमका ब्राण्ड पनि राख्ने विषयमा कुराकानी भइसकेको उनले सुनाए ।

थाइफुड्सका ननभेज सि फुडदेखि टु पिएम डेभिल्स चिकेन नुडल्स, पिनट पफ जस्ता अनेकौं ब्राण्डहरु विश्वभरी पुग्दैछन् । उद्योगले संसारबाट सकारात्मक प्रतिक्रियाहरु पाइरहेको जनाएको छ । थाइफुड्सले सन्तोष साहलाई ब्राण्ड एम्बेस्डर बनाएको छ । लण्डनमा बसेर विश्वचर्चित नेपाली शेफ रहेका उनी २०२० मा बेलायतको पकाकला सम्बन्धी परपट (टिभी) शृंखला बीबीसी मास्टरशेफ द प्रोफेशनल्समा प्रतिस्पर्धी थिए ।

नेपालमा उत्पादित आफ्नो सामानहरु युरोपमा उत्पादन भएभन्दा आधा सस्तो पर्ने भएकोले बजार विस्तारमा सहज रहेको जाजुको अनुभव छ । जुनसुकै खाद्यान्नको आइटम विक्री गर्नका लागि मुस्लिम देशहरुमा हलाल सर्टिफिकेट लिनुपर्छ । हिन्दूहरुको देशमा हमाम सर्टिफाइट हुनुपर्छ । थाइफुड्सले सबै प्रक्रिया पुरा गरेको छ । विदेशलाई चाहिने सबै सूचना प्याकेटमै उल्लेख छ ।

आफ्नो उत्पादनको मुख्य बजार भारत हुनसक्ने संभावना भएपनि भारत निर्यातमा केहि झन्झट रहेको जाजुको भनाइ छ । नेपालको खाद्य परीक्षणलाई भारतले मान्यता नदिँदा हरेक ६ महिनामा कलकत्ता पुगेर खाद्य परीक्षण रिपोर्ट लिनुपर्ने बाध्यता रहेको उनले सुनाए ।

सरकार निकाय र खासगरी व्यापार प्रबद्र्धन केन्द्रले विदेशमा भइरहेका महत्वका एक्स्पोहरुमा नेपाली सामानको प्रबद्र्धन गर्न ध्यान दिनुपर्ने जाजुको सुझाब छ । ‘वर्षमा २ सय करोड व्यापार प्रबद्र्धनमा राज्यले खर्च गर्नसक्ने अवस्था ल्याउनु पर्छ,’ उनले भने, ‘त्यसो भयो भने उत्पादनको निर्यातमा सहज हुन्छ, जसको प्रतिफल राज्यले करबाटै पाउँछ ।’

शनिबार, ०६ माघ, २०८०, दिउँसोको ०४:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर