विराटनगर । लामो समयसम्म नियमअनुसार बिदा लिएर घर नभएको भन्दै पाँच जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले लिखित स्पष्टीकरण सोधेको छ ।
लामो समयसम्म घर नगएपछि पारिवारिक विचलन आउने देखिएपछि स्पष्टीकरण सोधिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।
‘बिदा जा भन्दा पनि नगएपछि उनीहरूलाई स्पष्टीकरण सोधिएको रहेछ,’ कँडेलले भने ‘कारबाही गर्ने गरी नभई विदामा इन्करेज गर्ने गरी सोधिएको हो ।’ परिवारसँग सम्बन्ध सुधार हुने र घरमा गएर आएपछि फ्रेस समेत हुने गरेकाले प्रहरीले त्यो अभियान नै चलाएको उनले बताए ।
घर नगएपछि प्रहरीहरू बरालिन्छन् कि भन्ने चिन्ताले पनि कमान्डरले स्पष्टीकरण सोधेको कँडेलले बताए । श्रीमति र परिवारका सदस्यले प्रहरी सेवामा रहेकाहरु घर नआउने तथा वास्ता नगर्ने भन्दै गुनासो आएपछि स्पष्टीकरण सोधिएको उनले बताए ।
बिदा जाउ भन्दा समेत नगएपछि घरमै समस्या हो कि भनेर समेत स्पष्टीकरण सोधिएको खोटाङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङ प्रहरी निरीक्षक बेनु कार्कीले पाँच जना प्रहरीलाई बिदा नलिनुको कारणबारे स्पष्टीकरण सोधेका थिए ।
प्रहरी सहायक हवलदार सबिन थुक्लुङ लिम्बू, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, रूपेश तामाङ र अनिल परियारलाई ६ महिनादेखि विदा नलिनुको कारण माग्दै स्पष्टीकरण सोधिएको हो । ५ जना मध्ये ४ जनाले भने विवाह गरेका छैनन् भने एक जना विवाहित रहेको बताइएको छ ।
प्रहरी नियमावली अनुसार प्रहरी कर्मचारीले एक वर्षमा ३० दिन घर बिदा पाउँछन् भने १२ दिन भैपरी बिदा लिन पाउने व्यवस्था छ ।

