विर्तामोड । झापाको बिर्तामोडस्थित एक विद्यालयमा बेलुन फुलाउने ग्यासको सिलिण्डर विष्फोट हुँदा मंगलबार एक जना गम्भीर घाइते भएका छन् ।
बिर्तामोड–७ मा रहेको बेल्स मोडल स्कुलको शैक्षिक तथा खेलकुद कार्यक्रमको सजावटका लागि ग्यास भरिएको मेसिनबाट बेलुन फुलाउने क्रममा सिलिण्डर बिस्फोट भएको थियो ।
हेलियम ग्यास भरिएको सिलिन्डर बिस्फोट हुँदा अन्दाजी ५५ वर्षीय भारतीय नागरिक गणेश सहनीको कम्मरमुनीको भागमा चोट लागेको जिल्ला प्रहरी झापाले जनाएको छ। सहनी भारत पश्चिम बंगाल सिलिगुढीका हुन् । उनी डेकोरेसनको काममा खटिएका थिए ।
सहनीको बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए। सिलिन्डर बिस्फोटमा अन्य एकजना विद्यार्थी पनि घाइते भएकोमा उनको अवस्था भने सामान्य रहेको जनाइएको छ।
सिलिन्डर पड्किँदा निस्किएको आवाजले विद्यालयमा कक्षा–९ मा अध्ययनरत १५ वर्षीया विद्यार्थी कुसुम तामाङको कानमा समस्या आएर बिएन्डसी भर्ना गरिएको प्रहरीले जनाएको छ ।

